‘कोप–२८ मा नेपालको सहभागिता उपलब्धिमूलक’
जलवायु परिवर्तनको जोखिममा परेका अति कम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्नका लागि वित्तीय लगानी र प्रविधिको परिचालनमा विलम्ब गर्न नहुनेमा आफूले जोड दिएको उनले बताए।-1701615270.jpeg)
काठमाडौं, मंसिर १८ : राष्ट्र संघीय जलवायु सम्मेलन कोप–२८ मा नेपालको सहभागिताले विश्वको ध्यान आकृष्ट गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल बताएका छन्। आइतबार साँझ स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जलवायु परिवर्तनका असरबारे विश्व समुदायको ध्यानाकर्षण गरिएको बताए।
‘ग्लोबल स्टकटेक हाइ लेबल लीडर्स इभेन्ट अन एडेप्टेसन विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मैले पेरिस सम्झौताको प्रतिबद्धता अनुरूप नेपालले दोस्रो नेशनल डिटरमाइन्ड कन्ट्रीब्युसन पेस गरिसकेको एवम् राष्ट्रिय अनुकूलन योजनासमेत तयार गरेको जानकारी गराएको छु,’ उनले भने ‘जलवायु परिवर्तनको असर विरुद्धको लडाइमा युवा पुस्तालाई संलग्न गराउनुपर्नेमा जोड दिँदै विश्व तापमान वृद्धिको सीमा १.५ डिग्री कायम गर्ने प्रतिबद्धताको पालना गर्न विश्व समुदायलाई आह्वानसमेत गरेको छु।’
जलवायु परिवर्तनको जोखिममा परेका अति कम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्नका लागि वित्तीय लगानी र प्रविधिको परिचालनमा विलम्ब गर्न नहुनेमा आफूले जोड दिएको उनले बताए।
हरित गृह ग्यास उत्सर्जनमा नेपालको नगण्य योगदान रहेको भएपनि जलवायु परिवर्तनको प्रतिकूल असरको प्रभाव भने असमान रूपमा भोगिरहेको हुँदा नेपालप्रति अन्याय भएकाले यथार्थलाई दृष्टिगत गर्दै जलवायु वित्त र जलवायु न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने तथ्यप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको उनले बताए।
हिमाल मानव सभ्यता र जैविक विविधताको आधार भएकाले बढ्दो तापक्रमको प्रकोपबाट यसलाई जोगाउन अत्यावश्यक भएको कुरा दृढताका साथ राखेको उनले बताए।
यूएई भ्रमणका क्रममा अबुधाबीस्थित नेपाली राजदूतावासको अवलोकन गरी दूतावासका कामकारवाही, कठिनाइ÷चुनौतीहरू लगायतका विषयमा जानकारी लिएको पनि उनले बताए।
‘संयुक्त अरब इमिरेट्समा रहेका नेपाली श्रमिकसँग सम्बन्धित उद्धार, राहत, क्षतिपूर्ति, कानूनी प्रतिरक्षा लगायतका सेवाहरू उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी छिटो छरितो एवम् प्रभावकारी रूपमा प्रवाह गर्न निर्देशन दिएको छु’ उनले भने, ‘संयुक्त अरब इमिरेट्सबाट नेपालमा लगानी भित्र्याउन समन्वयात्मक हिसाबले पहल गर्नसमेत मैले राजदूतावासलाई निर्देशन दिएको छु।’
नेपाली राजदूतावासबाट आयोजित त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गरेको पनि उनले बताए।
जलवायु सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्रमोदीसँगै विभिन्न मुलुका सरकार प्रमुख र उच्चस्तरीय प्रतिनिधिसँग भेट भएको र आपसी हितका मामिलामा संवाद भएको उनले जानकारी गराए ।











-(1)-1752494016.png)