Kathmandu Press

समानुपातिकको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा चुनावमा उम्मेदवार हुन नपाइने 

समानुपातिकको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा चुनावमा उम्मेदवार हुन नपाइने 

काठमाडौं, मंसिर १७ : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा चुनावमा उम्मेदवार हुन नपाउने भएका छन्। 

निर्वाचन आयोगले निर्वाचन कानुन अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार हुन नसक्ने जनाएको छ। आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने विज्ञप्तिमा उल्लेख छ। ऐनको उक्त व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार हुन नसक्ने भनिएको छ।  

आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रमसमेत स्वीकृत गरेको छ। स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आगामी पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ। प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरू सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुनेछ र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ। 

पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ। पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २६ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। यस्तै, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने,  सोही दिन दिउसो २ अन्तिम नामावली प्रकाशन गरिने छ।

उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ। माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम तय गरिएको छ। मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना कार्य हुने छ।


 

प्रकाशित मिति: १५:५९ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्