राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता तय
आयोगले यसअघि राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोथियो। सरकारले यसअघि माघ ११ गतेका लागि राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको थियो।
काठमाडौं, मंसिर १७ : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता तय गरेको छ। आयोगले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते बिहान १० बजेदेखि ३ बजेसम्म तय गरेको हो।
आयोगले यसअघि राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोथियो। सरकारले यसअघि माघ ११ गतेका लागि राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको थियो। आयोगले मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन गरिसकेको छ। मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ।
आयोगका अनुसार राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने छ। स्वीकृत कार्यतालिका अनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ।
निर्वाचनको मिति माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको कार्य सञ्चालन गर्ने आयोगको तयारी छ।











-(1)-1752494016.png)