Kathmandu Press

रुकुमको सोती हत्या प्रकरणको मुद्दामा आजबाट निरन्तर सुनुवाइ

रूकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश डा.खड्कबहादुर केसीको इजलासमा सुनुवाइ सुरू भएको हो। पीडित जाहेरवालाको तर्फबाट सरकारी वकिलहरूबाट बहस शुरु भएको छ।
रुकुमको सोती हत्या प्रकरणको मुद्दामा आजबाट निरन्तर सुनुवाइ

सुर्खेत, मंसिर १७ : अन्तरजातीय विवाह प्रकरणमा ६ जनाको हत्या भएको रुकुमको सोती घटनाको मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ सुरू भएको छ।

रूकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश डा.खड्कबहादुर केसीको इजलासमा सुनुवाइ सुरू भएको हो। पीडित जाहेरवालाको तर्फबाट सरकारी वकिलहरूबाट बहस शुरु भएको छ।

सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीको तर्फबाट बहस सुरू हुने छ। २०७८ जेठ १० गते अन्तरजातीय विवाहको विषयमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो। हत्यापछि मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो।

घटनामा १२ जना घाइते भएका थिए। यसपल्ट निरन्तर सुनुवाई गरी फैसला गर्ने तयारी गरिएको छ। उक्त प्ररकणमा ३४ जनालाई प्रतिवादी बनाएर प्रहरीले रूकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। यी प्रतिवादीहरूविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।

अभियुक्तमध्ये जिल्ला अदालतबाट २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। २ जना बालकसहित ११ जना तारेखमा छुटेका छन्। 
 
प्रकाशित मिति: १३:३४ बजे, आइतबार, मंसिर १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्