नुवाकोटसहित काठमाडौं वरपरका क्षेत्रको विकासमा गम्भीर छौं : अर्थमन्त्री महत
पहिले काठमाडौंमा राणाहरुको नजिक रहेकाहरु र राणालाई रिझाउनेहरुले चाकरी गरेवापत पुरस्कारका रुपमा जमिन माग्ने गरेको भन्दै उनले उब्जनी सहजै काठमाडौं पुर्याउन सक्ने ठाउँको जमिन उनीहरुले पाउने गरेको इतिहास रहेको बताए।
नुवाकोट, मंसिर १६ : अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय राजधानी काठमाडौं वरपरका नुवाकोटसहितका जिल्लाको विकासका लागि सरकार गम्भीर रहेको बताएका छन्। शनिबार पन्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
‘राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो। नजिक भएर पनि पछाडि परेको हो। टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो,’ उनले भने, ‘त्यहाँका अगुवाहरुले शिक्षामा लगानी गरे। पढ्ने लेख्ने कामलाई प्राथमिकता दिए। तर काठमाडौं वरिपरीकाको आम्दानीको मूलस्रोत जग्गाजमिन थियो।’
पहिले काठमाडौंमा राणाहरुको नजिक रहेकाहरु र राणालाई रिझाउनेहरुले चाकरी गरेवापत पुरस्कारका रुपमा जमिन माग्ने गरेको भन्दै उनले उब्जनी सहजै काठमाडौं पुर्याउन सक्ने ठाउँको जमिन उनीहरुले पाउने गरेको इतिहास रहेको बताए।
नुवाकोटमा काठमाडौंसँग जोडिएको उब्जाउ रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरु धेरै भएको बताए।
काभ्रे, धादिङ र नुवाकोटका जनता प्रशस्त उब्जनी गर्ने र ठूलो हिस्सा काठमाडौं पुर्याउने काममा केन्द्रित रहेको सुनाउँदै उनले शिक्षाको विकासले २०४६ पछि मात्र गति लिएको तर विगतमा काठमाडौंको नजिक र शासकको नजरमा परेर पनि नुवकोटका जनता रैती बनेको बताए।
अबका दिनमा काठमाडौं वरपरका क्षेत्रको विकासको काम अघि बढेको मन्त्री महतले सुनाए। यसका लागि सरकार गम्भीर रहेको भन्दै उनले भने, ‘काठमाडौं–छहरे सुरुङ मार्गको कामहामीले गरिरहेका छौं। एक अर्ब बजेट पनि राखेका छौं, सुरुङमार्ग जटिल काम हो। यसका लागि तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ। तर तयारीको काम देखिँदैन।’
पहिले यही क्षेत्रका प्रकाशशरण महत अर्थमन्त्री भएका बेला बजेट व्यवस्था गरिएको उल्लेख गर्दै सुरुङ मार्ग खन्नका लागि भौगर्विक अध्ययन चाहिने भएकाले यसका लागि चिनियाँ सरकारसँग अनुरोध गरेको सुनाए।
वातावरण अध्ययन नेपाल सरकारले गरेपछि अन्तिम अध्ययन गरेर काम अगाडि बढ्ने मन्त्री महतको भनाइ छ।











-(1)-1752494016.png)