Kathmandu Press

‘पुनर्निर्माण जनसेवाको अवसर हो’

भूकम्पलगत्तै प्रधानमन्त्री विहानै प्रभावित स्थल पुगेर एकै दिनमा उद्धारको काम सम्पन्न गरेको उल्लेख गर्दै उनले राहत र पुनर्स्थापनाको कामलाई पनि सघनरुपमा अघि बढाउनुपर्ने बताइन्।
‘पुनर्निर्माण जनसेवाको अवसर हो’

सल्यान, मंसिर १६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई जनताको सेवा गर्ने बताएकी छन्।

सल्यानको दार्मा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित ढाकाडामकोटमा भूकम्प प्रभावित घरपरिवारका लागि अस्थायी आवास तथा शौचालय निर्माणका लागि स्वयंसेवक परिचालन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सरकार, पार्टी र जनता सबैले पुनर्निर्माणलाई सेवा गर्ने अवसरको रुपमा लिनुपर्ने बताइन्।

भूकम्पलगत्तै प्रधानमन्त्री विहानै प्रभावित स्थल पुगेर एकै दिनमा उद्धारको काम सम्पन्न गरेको उल्लेख गर्दै उनले राहत र पुनर्स्थापनाको कामलाई पनि सघनरुपमा अघि बढाउनुपर्ने बताइन्।

सरकारले पुनर्निर्माणको काम एक वर्षभित्र सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिँदै मन्त्री शर्माले आवश्यक परे सेना प्रहरी परिचालन गर्न सकिने नीतिगत निर्णय पनि भइसकेको उल्लेख गरिन्।

मन्त्री शर्मासँगै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसी, केन्द्रीय सदस्य एवं सल्यान इन्चार्ज नरेश भण्डारी, गाउँपालिका अध्यक्ष निमबहादुर केसीलगायतले श्रम गरेका थिए।

भूकम्पबाट सल्यान दार्मा गाउँपालिकामा ठूलो भौतिक क्षति भएको छ। १ हजार १ सय ७९ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १ हजार ८१ घरमा आंशिक क्षति भएको छ। पालिकाभित्रका २१ वटा सामुदायिक विद्यालय, ५ वटा स्वास्थ्य संस्था र ३ वटा वडा कार्यालयमा क्षति पुगेको छ।  

१ हजार १ सय ७९ घरधुरीका ६ हजार ३ सय १८ जनसंख्या बिस्थापित भएको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए।

प्रकाशित मिति: १८:५७ बजे, शनिबार, मंसिर १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्