कांग्रेसले एक्लै चुनाव लड्नुपर्छ : कोइराला
उनले कांग्रेस परिवर्तन हुन नेताहरुले त्याग गर्न सक्नुपर्ने र उग्र महत्वाकांक्षा र खराब आचरण त्याग्न जरुरी रहेको बताए।
रुपन्देही, मंसिर १६ : कांग्रेस नेता शेखर कोइरालाले आगामी सबै निर्वाचनमा सबै तहमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने बताएका छन्। कांग्रेसको प्रथम लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले एक्लै चुनाव लड्न अहिल्यदेखि तयारी थाल्न आग्रह गरे।
नेता कोइरालाले एक्लै चुनाव लड्न कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिए। उनले कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनुनपर्ने बताए।
२०८४ को चुनाव जित्न पार्टीको महाधिवेशन २०८२ भित्र सक्नुपर्ने उनले उल्लेख गरे। कांग्रेस परिवर्तन भएमात्र देश परिवर्तन हुने बताउँदै उनले कांग्रेस परिवर्तन हुन नेताहरुले त्याग गर्न सक्नुपर्ने र उग्र महत्वाकांक्षा र खराब आचरण त्याग्न जरुरी रहेको बताए।
मुलुकमा भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै गरेको भन्दै कोइरालाले सुशासन र पारदर्शिता कायम नभएसम्म कांग्रेसले विश्राम लिन नहुने बताए। राजनीतिज्ञ, उद्योगी–व्यापारी, कर्मचारीको मिलेमतोमा देशमा भ्रष्टाचार मौलाएको नेता कोइरालाले दाबी गरे।











-(1)-1752494016.png)