Kathmandu Press
थकाइ बिर्साउने त्याे यात्रा
थकाइ बिर्साउने त्याे यात्रावास्तविक किसानहरू मैले त्यहाँ देखें। उहाँहरूले गर्ने मेहनत सराहनीय थियो। आफ्नो खेतीपातीको काम, घरधन्दा र अतिथि संस्कार लोभलाग्दो थियो।

केही दिनअघि सिन्धुपाल्चोकको यात्रामा निस्किएँ। काठमाडौँको नारायणटारबाट सार्वजनिक बस चढेर बिहान ७ बजे मेलम्चीको बाटो हुँदै सिन्धुपाल्चोकको भोताङतिर लागें। गन्तव्य थियो, पाँचपोखरी थाङपाल गाउँपालिका–२ स्थित बोलगाउँ।

भोताङबाट बोलगाउँ पुग्न पाँच घन्टा हिँड्नुपथ्र्याे। सदरमुकाम चौतारा र मेलम्ची दुवै रुट जान सकिने भए पनि मेलम्ची नगरपालिका, रैथाने पोखरी हुँदै दिउँसो १ बजे भोताङ पुगें। कच्ची बाटो यात्रा निकै सकसपूर्ण थियो। त्यहाँका वडाध्यक्षको घरमा खाना खाएँ। युवा अवस्थामैै वडाध्यक्ष हुनुभएका उहाँको यो दोस्रो कार्यकाल रहेछ। सम्भवतः पहिलो स्थानीय तहको निर्वाचनमा सबैभन्दा कान्छो वडाध्यक्ष उहाँ नै हुनुहुन्थ्यो।

प्रसिद्ध पर्यटकीय स्थल पाँचपोखरी पनि उहाँकै वडामा पर्ने रहेछ। वडाको पर्यटकीय र कृषि क्षेत्रको विकासका योजनाहरू उहाँले सुनाउनुभयो। पाँचपोखरी नामअनुसारकै रहेछ। त्यहाँ पाँच सानाठुला पोखरी भएको सुन्दर सिमसार क्षेत्र हो। अहिले भोताङसम्म गाडी आउने भएकाले पाँचपोखरी पुग्न सहज भएको छ।

Hardik ivf

image9-1701514276.jpeg

केही बेरको आरामपछि दिउँसो २ बजे त्यहाँबाट बोलगाउँका लागि बाटो लागें। सिमसिम पानी परिरहेको थियो। मसँगै कुमार थापा सर पनि हुनुहुन्थ्यो। उहाँ सिन्धुपाल्चोक जिल्लाकै भएकाले भूकम्पअगाडिको सिन्धुपाल्चोक र अहिले त्यहाँको वर्तमान परिवेश भूगोल, बसोबासको स्थितिलगायत विषयमा मैले उहाँसँग जिज्ञासा राखे। उहाँले जवाफ दिँदै जानुभयो। त्यसो गर्दा बाटो काट्न पनि सहज भयो।

बाटोमा बाढीले भत्किएको बाटो हिँड्दै, बिग्रिएका पुल तर्दै हामी अगाडि बढ्यौँ। म जन्मेको तनहुँभन्दा बिकुल्लै फरक थियो त्यहाँको परिवेश। हरियाली जंगल, वरिपरि ठुलाठुला पहाड, सानाठुला खोला पार गर्दै हामी हिडिरह्यौं। शरीरमा थकान भए पनि हिँड्दै जाँदा प्राकृतिक सौन्दर्यले थकाइ मेटाउँदै जान्थ्यो। जति माथि गयो त्यति रमाइलो।

हाम्रो यात्रा उच्च भागमा रहेको हुनाले मोबाइलको नेटवर्ग पनि कुनै ठाउँमा टिप्ने कुनै ठाउँमा नटिप्ने हुन्थ्यो। बाटामा देखिएका गाउँहरु निकै रमाइला थिए। लोपोन्मुख गोरेटा त्यहाँका स्थानीयले संरक्षण गरेका रहेछन्। ढुंगाका सिँढी भएका बाटाहरू सरसफाइ गरिएको थियो। 

image7-1701514208.jpeg

मनमा लाग्यो, अझै पनि यस्ता बाटाहरू यति राम्रोसँग संरक्षण गर्ने परम्परा जीवितै छ। मोटरबाटो खनेपछि प्राय गोरेटाहरू लोप हुने अवस्थामा छन्। पहिले भएका गोरेटाहरू डोजरले भत्काउँदा पुनः बनाउने काम कमै ठाउँमा हुन्छ। तर त्यहाँ त्यसलाई संरक्षण र भत्काइएका ठाउँमा पुनः बनाइएको थियो।

यात्रा केही कष्टकर भए पनि जति माथि गयो त्यति नै त्यहाँको हावापानी र वातावरणीय सुन्दरताले दुःख बिर्साउँदै लग्यो। करिब पाँच घन्टाको कठिन हिडाइपछि बोलगाउँ पुगियो। बौद्ध धर्मालम्बीहरूको बसोबास रहेको उक्त गाउँमा पुगेपछि थकाइ पनि आफैं कम भएको महसुस भयो।

बेलुका त्यहाँका स्थानीयको घरमा बास बसियो। अर्गानिक आलुको विशेष परिकार खाइयो। गाउँमा ११२ घरधुरीको बसोबास रहेछ। सबै तामाङ जाति। किसानहरू खेतीपातीमा व्यस्त परिवारका सदस्यहरू कुनै न कुनै काममा व्यस्त। 

image10-1701514283.jpeg

युवायुवती वैदेशिक रोजगारीमा गएको। गाउँघर सुनसान भएको। गाउँहरू खाली हुँदै गएको। हुर्केका छोराछोरी विभिन्न काममा बाहिरै रहेको। घरमा बुढाबुढी मात्र भएको। यस्तो अवस्था देखेको पनि छु। समाचारमा पढेको पनि छु। तर त्यहाँका बासिन्दा विभिन्न असुविधाका बाबजुद पनि खुसी। प्रायः युवायुवती गाउँमै दुःखसुख गरेर बसेका। बिदेसिनुको सट्टा त्यही कृषि कर्ममै लागेको देखेर खुसी लाग्यो ।  उहाँहरु विदेश जाने सोचभन्दा पनि गाउँमै व्यावसायिक रूपमा कृषि गर्ने सोचमा हुनुहुन्छ।

वास्तविक किसानहरू मैले त्यहाँ देखें। उहाँहरूले गर्ने मेहनत सराहनीय थियो। आफ्नो खेतीपातीको काम, घरधन्दा र अतिथि संस्कार लोभलाग्दो थियो। अर्को दिन बोलगाउँबाट बिहानै ६ बजेर हिँडेर तिपेनीका लागि यात्रा गर्यौं। हामीलाई १२ बजेभित्र काठमाडौंको बस भेट्टाउनुपर्ने थियो। जंगलैजंगलको यात्रा कुनै समथल त कुनै ठाडो उकालो जंगलको यात्रा केही कष्टकर भए पनि हिँड्दै जाँदा देखिने दृश्यले दुःख बिर्साउँछ।

image4-1701514174.jpeg

यो दुई दिने यात्राले मनमा धेरै कुराको अनुभूति भयो। नेपाल साँच्चिकै प्राकृतिक हिसाबले सौन्दर्यको खानी नै हो। यस्ता सुन्दर प्राकृतिक संरचनाहरु धेरै छन्। त्यसको संरक्षण र उचित प्रचार गर्न सके यसले बाह्य र आन्तरिक पर्यटक आकर्षित गर्ने थियो। यसबाट धेरै युवाले नेपालमा नै रोजगार पाउने सम्भावना हुन्छ। 

पर्यटकीय हिसाबले सिन्धुपाल्चोकलाई धेरै गर्न सकिने देखिन्छ। काठमाडौंबाट नजिक भए पनि केही ओझेलमा परेको हो कि भन्ने महसुस भयो। सांस्कृतिक वेशभूषा, रहनसहन र हावापानी पनि यहाँको पर्यटक भित्राउने माध्यम बन्न सक्छ।


 

प्रकाशित मिति: १६:४० बजे, शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्