Kathmandu Press

पहिचानको माग वार्ताबाट समाधान गर्न प्रदेश प्रमुख खापुङको सुझाव

तुवाचुङ र खुवालुङ जस्ता सांस्कृतिक महत्वका क्षेत्रको एकीकृत विकासका लागि सरकारले ठोस योजना बनाएको कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराए।
पहिचानको माग वार्ताबाट समाधान गर्न प्रदेश प्रमुख खापुङको सुझाव

मोरङ, मंसिर १६ : कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले पहिचानको मुद्दालाई वाता र सहकार्यको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्। शुक्रबार मुख्यमन्त्री केदार कार्कीसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

प्रदेशको नामकरणलाई लिएर उठेको पहिचानको विषयलाई साँघुरो घेराबाट हेर्न नहुने विषयमा मुख्यमन्त्री र प्रदेश प्रमुख खापुङबीच छलफल भएको थियो। चालू आर्थिक वर्षको अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन विधेयक पारित भएपछि मुख्यमन्त्री केदार कार्कीले शुक्रबार प्रदेश प्रमुख खापुङसँग भेट गरेका थिए।

छलफलमा मुख्यमन्त्री कार्कीले पहिचान भाषा, संस्कृति र परम्परालाई एकै ठाउँमा राखेर हेरिनुपर्ने धारणा राखे। पहिचानको मुद्दालाई राजनीतिक फाइदासँग जोडेर हेर्न नहुने भन्दै उनले बजेटले प्रदेशको समग्र पहिचानलाई समेट्ने प्रयास गरेको दाबी गरे।

‘प्रदेश सरकारले फाल्गुनन्द भाषा संस्कृति अध्यायन केन्द्र स्थापना गरी प्रदेशमा रहेका सवै भाषा संस्कृतिको विकास गर्ने योजना बनाएको छ,’ उनले भने। तुवाचुङ र खुवालुङ जस्ता सांस्कृतिक महत्वका क्षेत्रको एकीकृत विकासका लागि सरकारले ठोस योजना बनाएको कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराए।

प्रदेश प्रमुख खापुङले बजेट कार्यान्वयनलाई मसिनो रुपमा हेर्न आग्रह गर्दै यसको जटिल पक्षमा समेत ध्यान दिन सुझाव दिए । पहिचानको मुद्दालाई वार्ता तथा संवाद र सहकार्यको माध्यमबाट सरकारले समाधान गर्नेमा आफू विश्वस्त रहेको उनले बताए।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले मंसिर १३ गते प्रदेशसभाबाट सर्वसम्मत पारित भएको बजेटमा उल्लेखित कार्यक्रमबारे प्रदेश प्रमुखलाई जानकारी गराएका थिए। उनले बजेटले भौतिक विकाससँगै मानवीय विकासलाई प्राथमिकता दिएको जानकारी गराए।

प्रकाशित मिति: १०:३७ बजे, शनिबार, मंसिर १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्