तोरीखोलालाई ‘मौलिक गाउँ’ बनाइँदै
तोरीखोला गाउँजस्ता मौलिकता बोकेका गाउँ बागलुङ थुप्रै थिए। तर पछिल्लो समय ती गाउँमा मौलिकता हराएको छ।
बागलुङ, मंसिर १५ : गलकोटको नरेठाँटी बजारभन्दा केहीमाथि रहेको तोरीखोला गाउँ, बाक्लो मगर बस्ती। ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर। रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन्।
वर्षौं पुराना घर अहिले पनि बलिया छन्। परम्परागत रुपमा बनेका मौलिक घर पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेको छ।
घरको आँगनमै आएको विकासले स्थानीयलाई सहज त दिलायो, त्यसको अलवा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढ्यो। तोरीखोला गाउँजस्ता मौलिकता बोकेका गाउँ बागलुङ थुप्रै थिए। तर पछिल्लो समय ती गाउँमा मौलिकता हराएको छ।
घर बनाउँदा ढुङ्गा, माटो र काठको प्रयोग गर्नुको सट्टा कङ्क्रिट प्रयोग हुन थाले। जसले गाउँ कुरुप बन्दै गएका छन्। तोरीखोला गाउँको मौलिकता भने अहिलेसम्म जोगाइ राखिएको छ।
बढ्दो सहरीकरण र आधनिकताले गाउँको परम्परा हराउँन थालेपछि गलकोट नगरपालिकाले पनि संरक्षणमा चासो दिएको छ। गाउँको सुन्दरता, मौलिकता र परम्परालाई जोगाउन तोरीखोला गाउँलाई नगरपालिकाले ‘मौलिक गाउँ’ का रुपमा विकास गर्ने भएको छ। तोरीखोला गाउँ अहिले पनि जिल्लामा चर्चित गाउँ हो । जहाँ हरेक महिना आन्तरिक तथा बाह्य पर्यटक फाट्टफुट्ट पुग्ने गर्छन्।
यस गाउँमा बनेका पुराना आकर्षक घरले धेरैलाई लोभ्याउने गरेको छ। केही वर्ष अगाडि सडक पुगेपछि गाउँमा एक÷दुई वटा सिमेन्टका घरसमेत बन्न थालेका छन् भने स्थानीयले ढुङ्गाको छानो हटाएर जस्तापाता प्रयोगसमेत गर्न थालेका छन्। नगरपालिकाले यसलाई रोक्न नीतिनै बनाएर लाग्न थालेको छ ग्रामीण जीवनशैली, शान्त वातावरण र प्राकृतिक मनोरम भएको तोरीखोला जिल्लामा छुट्टै पहिचान बनाएको गाउँका रुपमा चिनिन्छ।
यहाँका कला, संस्कृति र रीतिरिवाज विस्तारै हराउन थालेपछि बूढापाका चिन्तित छन्। गलकोट क्षेत्रलाई बागलुङमै सबैभन्दा बढी विदेश जाने क्षेत्रका रुपमा लिइन्छ। विदेश गएर आएपछि धेरैले मौलिक घरलाई हटाएर कङ्क्रिटको बनाउन थालेका छन्। मौलिक घरलाई संरक्षण गर्न नसके गाउँको अस्तित्व समाप्त हुने स्थानीय मोहन कालाले बताए।
हरेक वर्ष गाउँमा परम्परागतभन्दा फरक शैलीमा घर भवन बन्न थालेको भन्दै त्यसलाई रोक्नका लागि नगरपालिकाले चासो दिएको उनको भनाइ छ। गाउँमा थुप्रै कला, संस्कृति र परम्परा भए पनि युवा पुस्ताले चासो दिन छोडेपछि हराउन थालेको कालाले गुनासो पोखे। अचेल गाउँमा युवा शक्तिनै नभएको भन्दै बूढापाकाले थाम्दै आएको उनी बताउँछन्।
‘बाक्लो बस्ती छ, एकै नासका घर भएर होला बाहिरबाट आउने पाहुनाले खुब मन पराउनुहुन्छ यो गाउँलाई, बाहिरका मान्छेले मन पराएर मात्रै के गर्ने यहाँका युवाले माया मार्दै सहर बजार र विदेश जान थाले, बूढापाका रहँदासम्म गाउँ रहला त्यसपछि त सुनसान हुन्छ होला,’ कालाले भने, ‘अहिले त नयाँ खालका घर बनाउन थालेका छन्, पुराना ‘डिजाइन’का घरलाई हटाउन थालेका छन्, हामी यस्तै घरमा जन्मियौँ, हुर्क्यौं र अहिलेसम्म बसिरहेका छौँ, हामीभन्दा पछाडिका पुस्ताले गाउँलाई माया गर्न छोडे, हाम्रो पहिचान कला संस्कृति र रीतिरिवाज हो अब कसले संरक्षण गर्छ।’
गलकोट नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष हिमबहादुर भण्डारीले तोरीखोला गाउँलाई ‘मौलिक गाउँ’का रुपमा विकास गर्ने बताए। यहाँ अब बन्ने हरेक घर स्थानीय स्रोत साधान प्रयोग गरेर पुरानै शैलीमा बनाइनुपर्ने भन्दै सिमेन्टेड घर बनाउन रोक लगाउने बताए।
अध्यक्ष भण्डारीले यहाँका हरेक घरमा सकेसम्म रातोमाटो र सेतो कमेरोले रङ्ग्याउने नभए एकै किसिमको रङ लगाउनुपर्ने मापदण्ड बनाउने बताए। तोरीखोलामा वर्षौं पुराना कला संस्कृति प्रचलनमा रहेको हुँदा नगरपालिकाले पनि संरक्षण गर्न थालेको उजको भनाइ छ।
हाल यस गाउँमा पाँच घरमा घरबास (होम–स्टे) सञ्चालनमा रहेको र गाउँलाई मौलिक बनाएर पर्यटक भित्र्याउने र स्थानीयको आयआर्जनसँग जोड्ने उहाँ बताए। भण्डारीले तोरीखोला गाउँ विकासका पूर्वाधारले जोडिएपछि ठूलो परिवर्तन भएको सुनाउँदै स्थानीयको जीवनशैली पनि फेरिएको बताए। कला संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि आफूहरुले काम गरिरहेको अध्यक्ष भण्डारीको भनाइ छ। -रासस









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

