नेपालमा पनि मनाइयाे विश्व एड्स दिवस (तस्बिरहरू)
एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन हरेक वर्ष डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।
काठमाडाैं, मंसिर १५ : शुक्रबार ३६औं विश्व एड्स दिवस नेपालमा पनि समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ भन्ने नारासहित चेतनामूलक कार्यक्रम गरी मनाइएको छ।

एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन हरेक वर्ष डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले दिवसको अवसरमा विभिन्न चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरेको छ।
केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआईभी सङ्क्रमण भएको अनुमान छ। नेपालमा हरेक दिन एक जना एचआइभीबाट सङ्क्रमित हुने गरेको तथ्यांक छ। दिगो विकास लक्ष्यअन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ। नियमित एन्टिरेट्रो भाइरल औषधि खाए एचआईभी सङ्क्रमित व्यक्तिले स्वस्थ जीवनयापन गर्न सक्छन्। सरकारले एचआईभी सङ्क्रमितलाई तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क एन्टिरेट्रो भाइरल उपचार सेवा दिँदै आएको छ।
सन् १९८१ मा पहिलो एचआईभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा विश्वभर आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ। सङ्क्रमणका कारण चार करोड चार लाख जनाको ज्यान गएको तथ्यांक छ। विश्वमा हरेक दिन तीन हजार छ सय मानिस एचआईभी सङ्क्रमित हुने गरेका छन्।


















![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

