Kathmandu Press

भूकम्प प्रभावितको आवास निर्माणलाई तीव्रता दिन कांग्रेसको ध्यानाकर्षण

सरकारले अस्थायी आवास निर्माणको लागि दिने भनिएको ५० हजार एकैपटक दिन सरकारसँग कांग्रेसले माग गरेको पनि उनले बताए।
भूकम्प प्रभावितको आवास निर्माणलाई तीव्रता दिन कांग्रेसको ध्यानाकर्षण

काठमाडौं, मंसिर १३ : सत्तारुढ दल नेपाली कांग्रेसले जाजरकोट र रुकुमका भूकम्प प्रभावितको अस्थायी आवास निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज भएको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले सरकारको ध्यानाकर्षण गराएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।  

‘बैठकमा जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माण सम्बन्धमा के कस्तो काम भइरहेको छ र सरकारले दिने अस्थायी आवास निमार्णका लागि दिने रकम पुग्यो पुगेन यसबारेमा रक्षामन्त्री र अर्थमन्त्रीसँग जानकारी लिने काम भयो,’ बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘रकम पुगे पनि स्थानीय तहमा र पीडितका हातमा नपरेको कुरामा गम्भीर भएका छांै छिटै नै पठाउँछौ भन्ने कुराको जानकारी आएको छ।’

सरकारले अस्थायी आवास निर्माणको लागि दिने भनिएको ५० हजार एकैपटक दिन सरकारसँग कांग्रेसले माग गरेको पनि उनले बताए।

‘पार्टीको तर्फबाट त्यो रकम दुई किस्तामा दिने भनिएकोमा जम्मा ५० हजार रुपैयाँ पैसा दिने, त्यो पनि दूरदराजमा छ, यसलाई व्यवहारिक कठिनाइ हुन सक्छ,’ उनले भने, ‘त्यसैले ५० हजार एकैपटक दिनुपर्छ भन्ने पार्टीको तर्फबाट मन्त्रीहरुलाई सुझाव राखिएको छ।’
 
पार्टीको महासमितिको बैठक पुस १६ र १९ गते हुने जानकारी दिँदै उनले मुलुकमा अहिले देखिएको राजनीतिक तरलतामा पार्टीको तर्फबाट सबै विषयलाई जवाफ दिने हिसाबमा महासमितिको बैठक सम्पन्न गरिने बताए।

प्रकाशित मिति: १८:५६ बजे, बुधबार, मंसिर १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्