टिकटक बन्द नगर्ने आईएसपीको अनुमति खारेज गर्ने प्राधिकरणको चेतावनी
हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
काठमाडौं, मंसिर १३ : नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे–नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ।
प्राधिकरणको अनुगमन महाशाखाले जारी गरेको सूचनामा मुख्यतया काठमाडौं बाहिर इन्टरनेट सेवा प्रदान गर्ने ५५ कम्पनीले अहिलेसम्म सो जानकारी नदिएको भन्दै २४ घण्टाभित्र सो जानकारी उपलब्ध गराउन आग्रह गरेको छ। प्राधिकरणले कम्पनीहरूको सूची नै प्रकाशित गरेर यस अवधिमा जवाफ प्राप्त नभएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजीलगायतको कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको हो ।
यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने बताए।
गत कात्तिक २८ गते र मंसिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले उक्त सूचनामार्फत निर्देशन दिएको उनले बताए।
गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो।
उक्त निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो। हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनीसमेत दिएको छ।










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
