‘समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय’

काठमाडाैं, मंसिर ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको बताएका छन्।
सोमबार काठमाडौंमा छैटाैं सामाजिक सुरक्षा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय कार्यान्वयनको महत्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम भएकाले समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषय भएको बताएका हुन्। प्रधानमन्त्री भएपछि आफुले देश र जनताका लागि काम गर्ने प्रतिवद्धताका साथ अघि बढेको उनले बताए।
उनले अर्थतन्त्रमा समस्या हल गर्नका लागि गम्भीर बहस छलफलमार्फत महत्वपूर्ण निर्णय गरेको दाबी गरे। प्रधानमन्त्री प्रचण्डले आइतबार नै सुकुम्वासीको समस्या हल गर्न नितिगत निर्णय गरेको भन्दै छिटै सुकुम्वासी भूमिहिनको समस्या समाधान हुने जिकिर गरे। उनले अहिलेको व्यवस्थाबिरुद्ध भ्रम छर्ने काम गरेको भन्दै अव इतिहासको पाङ्ग्रा पछाडी फर्कन नसक्ने स्पष्ट पारे।
प्रधानमन्त्री प्रचण्डले शुरुवाती चरणमा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचार लगायत अन्य सुविधा प्राप्त गर्ने व्यवस्थामा सुविधाहरु थप गर्दै योगदानकताका परिवारलाई नै स्वास्थ्य उपचार सुविधा दिने तयारी भइरहेको बताए। उनले स्वास्थ्यमा सबैको सहज पहुँच पुर्याउन यसप्रकारका कार्यक्रम एक उत्कृष्ट नमुना बन्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपाली नागरिकहरुको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा समाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता जनाए।
उनले विदेशमा रहेका नेपालीहरु र अनौपचारिक क्षेत्रका सम्पूर्ण श्रमिकहरुलाई यस कार्यक्रममा समावेश हुन अपिल गरे। सामाजिक सुरक्षा कोषका अनुसार हाल १८ हजार ४३९ रोजगारदाता र नौ लाख २८ हजार ४५३ योगदानकर्ता कोषमा आबद्ध भएका छन्। त्यस्तै यस अवधिसम्म कोषमा ५१ अर्ब २९ करोड रुपैया संकलन भएको कोषले जनाएको छ।











![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)