स्वास्थ्यमन्त्री बस्नेतले लिए कोभिडमा ज्यान गुमाएकी सावित्रीका छोराको शैक्षिक जिम्मेवारी
-1701065623.jpg)
काठमाडौं, मंसिर ११ : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कोभिड संक्रमणबाट नेपालमा ज्यान गुमाउने पहिलो नेपाली सिन्धुपाल्चोककी सावित्री तिमिल्सिना चालिसेको कान्छो छोराको १२ कक्षा सम्मको पढाई खर्च ब्यहोर्ने भएका छन्।
आमाको निधन हुँदा छोरा सफल नौ दिनका मात्रै थिए। बालक साढे तीन वर्षका भएका छन्। उनको आज टोखा नगरपालिका–९ गोंगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा मन्त्री बस्नेतले भर्ना गराएका छन्।
सफलको कक्षा १२ सम्मको पठन पाठनको जिम्मा लिएका बस्नेतले आफूले कोभिडको समयमा मातृत्वको छायाँ गुमेपछि नै बालकलाई ठूलो भएपछि शैक्षिक जिम्मेवारी लिने प्रतिवद्धता उनका बुबासँग गरेको सम्झिए।
‘बालक नौ दिनको हुँदा उनकी आमा बित्नुभयो। त्यही बेला हामीले १२ कक्षासम्म बच्लालाई निःशुल्क पढाउने व्यवस्था मिलाउँछौ र बालकको रोजगारीदेखि भविष्यको जिम्मा लिन्छौं भनेर बालकको बुबालाई भनेका थियौं। आज बालकलाई यहाँ पढ्ने व्यवस्था मिलाइएको छ। १२ कक्षासम्म पढाएर त्यसपछिको रोजगारीको व्यवस्था पनि हामीले गर्दिन्छौं’, बस्नेतले भने।
सफलका बुबा बिमल चालिसेले मन्त्री बस्नेतले गरेको सहयोगप्रति आभार व्यक्त गरे। उनका जेठो छोरा पहिलादेखि नै सोही स्कूलमा पढ्दै आएका छन्। हाल कक्षा ८ मा रहेका बिमलका जेठो छोराको आमाको निधनपछि शैक्षिक जिम्मेवारी स्कूलका प्रधानाध्यापक मााधवप्रसाद अधिकारीले लिँदै आएको बताएका छन्।
अब दुवै दाजुभाई आफ्नै स्कूलमा पढ्ने भएपछि प्रधानाध्यापक अधिकारी खुशी छन्। ‘आमाको निधन अघि नै जेठा छोरा यहीँ पढ्ने गर्दथे। कोभिडबाट ज्यान गुमाउने पहिलो महिला नै हाम्रै प्यारेन्ट्स हो। बच्चा र परिवारजनको मात्रै होइन त्यो दुर्भाग्य हाम्रो पनि हो भन्थ्यौं हामी। उहाँको निधनपछि जेठोलाई मैले पढाएको छु। कान्छोलाई मन्त्रीज्युले पढाउने हुनुभयो। दुवै बच्चा राम्रोसँग पढेर हुर्कने भए। १२ कक्षासम्म पढे भने भोलि सफल भएर परिवारलाई सहयोग र देशलाई सेवा गर्छन्,’ अधिकारीले भने।
नेपालमा कोभिड–१९ संक्रमणबाट नौ दिने सुत्केरीले पहिलो पटक २०७७ जेठ ३ गते ज्यान गुमाएकी थिइन्।











![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)