Kathmandu Press

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा बस्दै

प्रतिनिधिसभा सदस्य मनिष झाले मधेस प्रदेशमा सङ्गठन निर्माणलगायत विषयमा केन्द्रित हुन रणनीतिकरूपमा बैठकले महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बताए।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा बस्दै

जनकपुरधाम, मंसिर ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ।

पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीन दिनसम्म बैठक बस्न लागेको जानकारी दिए।

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहने बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने सचेतक परियारले बताए।

बैठकमा सहभागी हुन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र पार्टी सांसद आउने क्रम जारिरहेको उनले बताए।

प्रतिनिधिसभा सदस्य मनिष झाले मधेस प्रदेशमा सङ्गठन निर्माणलगायत विषयमा केन्द्रित हुन रणनीतिकरूपमा बैठकले महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बताए।

रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न मंसिर ८ गतेदेखि नै मधेस प्रदेशमै छन्।

प्रकाशित मिति: ०९:५९ बजे, सोमबार, मंसिर ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्