Kathmandu Press

सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा

सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा

काठमाडौं, मंसिर १० : सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ। 

आजदेखि प्रत्यक दिन बिहान ८ः३० बजेदेखि तीनरतीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका लागि बस छुट्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले राससलाई जानकारी दिए। 'रत्नपार्क–सूर्यविनायक रुटमा ३६ बस सञ्चालन हुनेछन्', उनले भने, 'आज बिहान साँढे ८ बजेदेखि बस नियमित सञ्चालन गरिएको छ।' यसअघि उक्त रुटको दुवैतर्फ गरी २५ बस सञ्चालन गरिएको थियो।

आजदेखि पुनः सुरु भएको उक्त सेवा तीनरतीन मिनेटको फरकमा सूर्यविनायकबाट रत्नपार्क बस प्रस्थान गरेका छन्। बस सेवा बिहान १०ः३० बजेसम्म र दिउँसो ३ः३० बजेदेखि ५ः३० बजेसम्म सञ्चालनका लागि तालिका बनाइएको महानिर्देशक रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बस थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको छ। 

यात्रुलाई छिटो गन्तव्य पुग्न सहज होस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेदेखि उक्त बस सेवा सुरु गरेको थियो। सेवा प्रभावकारी नभएपछि एक महिनामै स्थगित गरिएको थियो। 

अन्य सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा लाग्ने गरेकामा द्रुत बसलाई ४५ मिनेट लाग्ने रिजालले दाबी गर्नुभयो। माइतीघर, कोटेश्वर, जडीबुटीलगायत ट्राफिक जाम बढी हुने चोकमा पनि द्रुत सेवाका बस रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने उनको भनाइ छ।

रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसले जति भाडा लिन्छन् द्रुत बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभाग मीनभवनले जनाएको छ।

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, मंसिर १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्