‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ पारित
विधेयक पारित हुनु अगाडि कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, किशोरचन्द्र दुलाल, विदुरकुमार लिंथेप, राजन किराँती, विनोद राई, डोल्मा तामाङ, छविलाल चुँडाल र रामप्रसाद महतोले सो विधेकयको विविध पक्षमा चर्चा गरेका थिए।
विराटनगर, मंसिर १० : कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मत पारित भएको छ।
प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेस गरेको थियो। विधेयक पारित हुनु अगाडि कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, किशोरचन्द्र दुलाल, विदुरकुमार लिंथेप, राजन किराँती, विनोद राई, डोल्मा तामाङ, छविलाल चुँडाल र रामप्रसाद महतोले सो विधेकयको विविध पक्षमा चर्चा गरेका थिए।
उनहरुले सरकारको कर तथा राजस्व उठाउने विषयसँग सम्बन्धित यो विधेयकले प्रदेशको समृद्धिको यात्रा कोर्ने भएकाले यसमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको थियो। छलफलमा उठेका विषयमा मुख्यमन्त्री कार्कीले अध्यादेशबाट आएको विधेयक भएकाले यसमा कर र करका दायराका विषयमा कुनै पनि फेरबदल नगरेको जानकारी दिए। उनले प्रदेशको आयको सबैभन्दा ठूलो स्रोत यातायात भएकाले यसलाई व्यवस्थित गर्ने कुरामा जोड दिए।
मुख्यमन्त्री कार्कीले गिटी, बालुवा र ढुङ्गाका विषयमा स्थानीय तहले कर लगाउने भएकाले प्रदेश सरकारले यसबाट आउने करलाई व्यवस्थित मात्र गर्ने स्पष्ट पार्दै सरकारले घरेलु तथा साना उद्योग दर्तामा सहुलियत दिने नीति लिएको जानकारी दिए।
बिहान ११ बजे प्रारम्भ हुने भनिएको बैठक ढिला सुरु भएको थियो। दिउँसो १ः४५ बजे स्थगित भएको बैठक २ः४५ मा पुनः सुरु भएको थियो। बैठकको सभाध्यक्ष हाजी इसराइल मन्सुरीले गरेका थिए। अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ।











