स्वास्थ्यमन्त्रीलाई तत्काल हटाउन डा. केसीकाे माग
डा. केसीले आइतबार विज्ञप्ति जारी गरेर मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’को संज्ञा दिँदै त्यस्ता व्यक्ति पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको बताएका छन्।
काठमाडाैं, मंसिर १० : चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्।
डा. केसीले आइतबार विज्ञप्ति जारी गरेर मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’को संज्ञा दिँदै त्यस्ता व्यक्ति पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको बताएका छन्।
स्वास्थ्य मन्त्री बस्नेतले डा. केसी मेडिकल गिरोहबाट सञ्चालित रहेको आरोप लगाएका थिए। त्यसलाई ‘घोर आपत्तिजनक अभिव्यक्ति’ बताउँदै डा. केसीले मन्त्री बस्नेतलाई पदमुक्त गर्नुपर्ने बताएका हुन्।
‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो,’ डा. केसीको विज्ञप्तिमा भनिएको छ, ‘यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप हो। निजलाई तत्काल पदमुक्त गरियोस्।’
पद सम्हालेदेखि नै मन्त्री बस्नेतले मर्यादाविपरीतका क्रियाकलाप गरी आइरहेको आरोप डा. केसीको आरोप छ। आफूमाथि मन्त्री बस्नेतले लगाएका आरोप कपोलकल्पित, झुटाे रहेको पनि डा. केसीले बताएका छन्। गुणस्तरिय, नि:शुल्क, सस्तो, सुलभ स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्न र सुशासनका लागि आफू संघर्षरत रहेको उनकाे भनाइ छ।











