मलेसियामा बेपत्ता भएका गोपाल १८ वर्षपछि घर आइपुगे
मलेसिया पुगेको एक सातापछि उनीमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो। यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो।
झापा, मंसिर १० : वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइगेका छन्।
१८ वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो। उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो।
शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आएका गोपाल शनिबार घर आइपुगेको कांग्रेस महामन्त्री विश्वकप्रकाश शर्माले जानकारी दिए।
मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेका शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताए।
‘गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो,’ सांसद शर्माले उद्धारप्रति खुसी व्यक्त गर्दै भन्नुभयो, ‘यो नै सबैभन्दा ठूलो खुसी हो।’
गैरकानुनीरूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली एक लाख चार हजार एक सय ६० तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पंगेनीले बताए।
२०६१ चैतमा प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र लिएर १९ वर्षका उमेरमा गोपाल मलेसिया गएका थिए। मलेसिया पुगेको एक सातापछि उनीमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो। यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो।
विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गरिन्। उनले छोरा खोजिदिन पहल गरिदिनुहुने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गरिन्।











