प्रधानमन्त्रीले देशको हितमा काम नगरेको एमाले नेता पोखरेलको आरोप
पोखरेलले एमालेको सरकार ढलेपछि दाहाल नेतृत्वको सरकारको चालामाला ठीक नभएको बताए।
मुगु, मंसिर १० : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार जनहित विपरित विदेशीको हितमा काम गरिरहेको आरोप लगाएका छन्।
एमालेको मुगु जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दैै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको भारत भ्रमणमा नेपालको हितभन्दा भारतले चाहेको कुरा सुम्पेर आएको आरोप लगाए।
पोखरेलले एमालेको सरकार ढलेपछि दाहाल नेतृत्वको सरकारको चालामाला ठीक नभएको बताए।
‘एमालेलाई सरकारबाट हटाइसकेपछि गठबन्धनको नाममा जुन प्रकारको राजनीति भइरहेको छ, त्यो राजनीतिले के गरिरहेको छ भने अदालत अदालत जस्तो छैन,’ उनले भने, ‘जनताको विश्वास र भरोसा टुटेको छ । संसद संसदजस्तो छैन जनताको आवाज त्यहाँ उठ्न छोडेका छन् । सरकार सरकारजस्तो छैन, देश र जनताको हितका पक्षमा काम गर्न सकिरहेको छैन।’
उनले दाहाल सरकार विदेशीहरुको सामु लम्पसार परेको बताए। उनले भने, ‘प्रधानमन्त्री भारत भ्रमणमा गएर भारतीयहरुले जेजे चाहन्छन् सबैकुरा सुम्पनुभयो र बदलामा १५ वटा मुर्रा राँगा लिएर आउनुभयो।’
उनले देशको अर्थतन्त्र विग्रनु र देश विग्रनुको पछाडि पनि प्रधानमन्त्री दाहालकै हात रहेको आरोप लगाए।











