गणतन्त्रविरुद्ध नलाग्न पूर्वराजालाई गगनको चेतावनी
‘राजाले पनि जुवाको खालमा गएर च्याँखे दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए खालमा आउनुस् कांग्रेस भिड्न तयार छ, पार्टी खोल्ने, चुनाव लड्ने संविधानले दिन्छ । बहुमत ल्याउने संविधान फेर्ने, बदल्ने, फर्काउने । नेपाली कांग्रेस यो कुराको लागि तयार छ।’
गुल्मी, मंसिर ९ : कांग्रेस महामन्त्री गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नलाग्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्।
शनिबार नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनमा महामन्त्री थापाले धर्मको आडमा राजनीति नगर्न पूर्वराजालाई चेतावनी दिए। उनले पूर्वराजालाई पार्टी खोलेर चुनावमा आउन र संविधान संशोधन गर्न चुनौती दिए।
‘राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसले प्रस्ट भन्ने हो, राजाले पनि जुवाको खालमा गएर च्याँखे दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए खालमा आउनुस् कांग्रेस भिड्न तयार छ,’ उनले भने, ‘पार्टी खोल्ने, चुनाव लड्ने संविधानले दिन्छ । बहुमत ल्याउने संविधान फेर्ने, बदल्ने, फर्काउने । नेपाली कांग्रेस यो कुराको लागि तयार छ।’
महामन्त्री थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको धारणा राखे। उनले राजतन्त्रको समयमा आफूले राजतन्त्रका विरुद्ध प्रश्न उठाएकै कारण पक्राउ परेको बताए।
‘अहिले देशमा विभिन्न बहनामा गणतन्त्रमाथि प्रश्न उठिरहेको छ । गणतन्त्र भएकै कारणले प्रश्न गर्न पाइएको हो, यदि राजतन्त्र भएको भए यसप्रकारको विरोध सुन्न पाइने थिएन,’ उनले भने।
नेतामाथि गाली गर्न, चित्त नबुझेको कुरामा प्रतिकार गर्न, व्यवस्था ठीक भएन भन्न र व्यवस्था बदल्छु भन्न पनि गणतन्त्र भएकाले नै सम्भव भएको उनको भनाइ छ।
नेपालबाट राजाहरूकै बदनियतले राजतन्त्र फालिएको टिप्पणी उनको थियो। उनले २०१७ पुस १ मा राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई बर्खास्त गरी पञ्चायती शासन लगाएर मुलुकलाई पछाडि धकेलेको पनि उनले बताए।











