कोशी सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने
मुख्यमन्त्री कार्कीले पेश गरेको ३६ अर्ब ७४ करोड ३५ लाखको बजेटमा १० वर्षसम्मका बालबाबलिकाको निःशुल्क उपचारको व्यवस्था मिलाइने जनाइएको छ।
मोरङ, मंसिर ९ : कोशी प्रदेश सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ।
आर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक आज प्रदेशसभामा पेस गर्दै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री केदार कार्कीले यो जानकारी दिएका हुन्।
मुख्यमन्त्री कार्कीले पेश गरेको ३६ अर्ब ७४ करोड ३५ लाखको बजेटमा १० वर्षसम्मका बालबाबलिकाको निःशुल्क उपचारको व्यवस्था मिलाइने जनाइएको छ।
बजेटमा यसअघि समावेश साना बजेटका टुक्रे योजना कटौती गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन्।
यसअघि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएको भन्दा ५० करोड बढीको बजेट मुख्यमन्त्री कार्कीले पेस गरेका छन्। बजेटमा उल्लेख भएअनुसार धुलो दूध र घिउ निर्यातमा अनुदान दिइने भएको छ।
यस्तै, सौर्य ऊर्जा प्रणालीमार्फत् चल्ने स्वचालित तुइन सञ्चालन गर्ने, हात्तीमैत्री जंगल बनाउने, इटहरीमा जलन अस्पताल निर्माण गर्ने, तमोर नदीको पानी धरान ल्याउने लगायत योजना बजेटमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री कार्कीले चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पूँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरेका छन्।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । उनले पूँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालूतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड विनियोजन गरेका थिए।











