Kathmandu Press

रवि लामिछाने भन्छन्– सरकार रास्वपाको प्राथमिकता होइन

रास्वपा अहिले सदनमा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै उनले अहिले आफनो जिम्मेवारी र भूमिका असाध्यै धेरै रहेको जिकिर गरे।
रवि लामिछाने भन्छन्– सरकार रास्वपाको प्राथमिकता होइन

रौतहट, मंसिर ९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार पार्टीको प्राथमिकतामा नभएको बताएका छन्।

चन्द्रनिगाहपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार पार्टीको प्राथमिकतामा नभएपनि मुलकलाई आवश्यकता वा अप्ठ्यारो परेको खण्डमासरकारमा सहभागी हुन सकिने बताए।

रास्वपा अहिले सदनमा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै उनले अहिले आफनो जिम्मेवारी र भूमिका असाध्यै धेरै रहेको जिकिर गरे।

अध्यक्ष लामिछतानेले अर्थतन्त्र चलायमान बनाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार दलहरुका नेता र निजी क्षेत्रका अगुवासँग गरेको बैठकप्रति असन्तुष्टी व्यक्त गरे।  

‘सर्वदलीय बैठकमा यो दलबाट यो आयो भनेर संख्या गन्ने मात्र काम भएको छ,’ उनले भने, ‘अर्थतन्त्र बलियो हुने आधारको खोजी नगरिएकाले खाली देखावटी रुपमा बैठक बोलाइएको हो।’

राष्ट्रिय स्वतन्त्र पार्टी देश र मधेसको भविष्य फेर्न तयारीको साथ मधेसमा आएको दाबी उनले गरे। वर्र्षौदेखि विभेदमा परेको मधेसमा विशेष तयारी गरी आफू एक हप्ताको कार्यक्रमअन्तर्गत आएको बताउँदै लामिछानेले मधेसमै पार्टीको विशेष बैठक पनि राखेको जानकारी दिए।

काठमाडौंमा भइरहेको प्रदर्शनसँग सरकार डराउनु लज्जास्पद रहेको टिप्पणी उनले गरे। धेरै दलहरु मिलेर बनेको शक्तिशाली सरकार आन्दोलनसँग डराउदै धरपकडमा उत्रिएको घटना लज्जास्पद भएको उनले बताए।

स्वतन्त्र रुपमा हिडेका नागरिकलाई समाउँदै थुनेको घटना लोकतन्त्रको विशेषताविरुद्ध रहेको बताउँदै लामिछानेले लोकतन्त्रमा प्रदर्शन र विरोध गर्न पाउने जनताको अधिकार भएको बताए।

 

प्रकाशित मिति: १८:१८ बजे, शनिबार, मंसिर ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्