Kathmandu Press

‘जनगायक पाख्रिनका गीतहरुले आन्दोलनमा ऊर्जा दिन्थ्यो’

खुशीराम पाख्रिन आफ्नो विचार, दर्शनप्रति निष्ठावान, सरल, पारदर्शी स्वभावको क्रान्तिकारी योद्धा रहेको पनि उनले उल्लेख गरे।
‘जनगायक पाख्रिनका गीतहरुले आन्दोलनमा ऊर्जा दिन्थ्यो’

काठमाडौं, मंसिर ९ : प्रधानमन्त्री पुष्पकमल दाहालले जनगायक खुशीराम पाख्रिनका गीतहरुले आन्दोलनमा ऊर्जा थप्ने काम गरेको बताए।

शनिबार राजधानीमा पाख्रिनको छैटौ स्मृति दिवस तथा स्मृति ग्रन्थ विमोचन कार्यक्रममा उनले राजनीतिक प्रशिक्षणले गर्न नसकेको काम सांस्कृतिक कार्यक्रमबाट हुने गरेको भन्दै त्यसमा पाख्रिनको भूमिका स्मरणीय रहेको उल्लेख गरे।   

‘उहाँले गाएका गीतहरुले आन्दोलनमा साच्चिकै एउटा ऊर्जा थप्ने काम गरेको थियो। कहिले पुराना नहुने खालका गीतहरु छन्, अहिले पनि त्यस्तै छन् ती गीतहरु,’ प्रधानमन्त्री दाहालले भने, ‘सांस्कृतिक कार्यक्रममार्फत जनतालाई चेतना दिने कुरा जति प्रभावकारी थियो, राजनीतिक प्रशिक्षणले त्यो स्तरको गर्न सकेको थिएन।’

खुशीराम पाख्रिन आफ्नो विचार, दर्शनप्रति निष्ठावान, सरल, पारदर्शी स्वभावको क्रान्तिकारी योद्धा रहेको पनि उनले उल्लेख गरे।

व्यवस्था परिवर्तनको संघर्षमा रहँदाका दिन स्मरण गरे । ‘जब हामी भूमिगत भएर पञ्चायतविरोधी गतिविधि बढाउँदै जाने क्रम भयो, तब उहाँलाई चितवन जिल्लाबाट झिकेर देशका अन्य विभिन्न भागमा गीत गाउन लैजाने, अझ त्यसभन्दा बढी चाहिँ भारतमा भएका नेपालीका बीचमा लैजाने काम गरियो,’ उनले भने।

‘गैँती बेल्चा उचालेर, पहरालाई छिचोलेर’ जस्ता गीतहरु निकै लोकप्रिय भएको उनले सुनाए। भारतमा पुगेका बेला पाख्रिनलाई कोलकाता, मुम्बई, मद्रास, दिल्ली, पन्जाब आदि धेरैतिर घुमाएको स्मरण उनले गरे।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहलाले प्रवासमा संगठन बनाउन पाख्रिनको ठूलो योगदान रहेको बताए।

प्रकाशित मिति: १७:४६ बजे, शनिबार, मंसिर ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्