समाजवादबाहेक अरू वादको भविष्य छैन : उपमहासचिव ज्ञवाली

काठमाडाैं, मंसिर ९ : नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मार्क्सवाद र समाजवादको सान्र्दभिकता आज पनि उत्तिकै रहेको बताएका छन्। उनले आधुनिक विश्वको समस्या समाधान गर्ने सक्षमता अझै समाजवादसँग रहेको र त्योबाहेक अरु कुनै वादको भविष्य नभएको दाबी गरे।
शनिबार पार्टी कार्यालय च्यासलमा बुद्धिजीवी परिषद्द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण गराएका उनले मार्क्सवाद र समाजवादको बारेमा राखिएका वैज्ञानिक विचारहरु अझै पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको बताए।
उनले भने, ‘मार्क्सवाद र समाजवादको सान्र्दभिकता आज पनि उत्तिकै छ। समय घर्किएको कारणले यसको सान्र्दभिकता सकियो भन्ने होइन। वैज्ञानिक विचारहरु कहिल्यै पनि पुराना हुँदैनन्। तिनिहरु आफैंमा इभोलुसन भएर कतिपय नयाँ चिजहरु थपिदै र आपसमा समृद्ध हुँदै जान्छन्।’
आधुनिक विश्वमा देखा परेका समस्यालाई समाधान गर्न भोटे ताल्चा खोल्ने चाबी नै मार्क्सवादसँग भएको ज्ञवालीले बताए। ‘मार्क्सवाद एउटा वैज्ञानिक सोच हो, त्यसकारण यो आज पनि उत्तिकै सान्दर्भिक छ। अहिलेका विश्वका समस्याहरुको समाधान गर्ने ढोकाको भोटे टाल्चा खोल्ने साँचो मार्क्सवादसँग छ’ उनले भने।
उनले कार्ल माक्स बितेपछिको समयमा धेरै कुराहरु परिवर्तन भएको भए पनि विश्वमा श्रमिकमाथि हुने शोषण परिवर्तन नभएको र मालिकहरुले श्रमिकमाथि झन धेरै शोषण गरेको धारणा राखे।
उनले भने, ‘हिजो एकठाउँमा बसेर आन्दोलन गर्न पनि सजिलो थियो। आज ठूल्ठूला मजदुर आन्दोलनहरु किन भैरहेका छैनन् भन्ने कहिलेकाहीँ प्रश्न उठ्छ। हिजो एउटा कारखानामा हजार जनाले काम गर्थे, संगठित हुन सजिलो थियो। अहिले अवस्था यस्तो छ कि श्रमिकले कस्का लागि किन काम गर्दैछु भन्ने समेत थाहा पाउँदैनन्। श्रम श्रेत्रमा यति धेरै डिसेन्ट्रलाइज्ड, सोफेस्टिकेटेड र कम्प्लेक्स बन्दै गएको छ कि त्यसले मजदुर आन्दोलनलाई नै चुनौती दिएरहेको छ। वास्तवमा शोषणको रुपहरु बदलिएको छ। हामीले यो पाटोमा ख्याल गर्नुपर्छ।’
उनले श्रम बजारमा भइरहेको श्रम शोषणलाई मार्क्सवादको दृष्टिकोणबाट मिहिन रुपमा हेर्न जरुरी रहेको भन्दै समाजवादबाहेक अरु कुनै वादको भविष्य नभएको बताए।
‘श्रम क्षेत्रमा आइरहेको बदलावलाई हामीलेल मसिनो गरी हेर्न जरुरी छ। यसलाई मार्क्सको दृष्टिकोणबाट हेरेर त्यसले केके नयाँ प्रश्नहरु ल्यायो, त्यसको जवाफ कसरी खोज्ने ? श्रम बजारमा आउट सोर्सिङ गर्नेहरुलाई कहाँ संगठित गर्ने ? उनीहरुका माग कोसँग राख्ने? यसमा हामीले नयाँ ढंगबाट सोच्नुपर्छ।’











