सडक मर्मतको अनुगमन गर्दै मन्त्री ज्वाला
मन्त्रीसहितको टोलीले महाराजगञ्ज बुढानीलकण्ठ, बालाजु बाइपास, कलंकी–महाराजगञ्ज सडकको अनुगमन गरेको छ।
काठमाडौं, मंसिर ८ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उपत्यकाका घनाबस्ती क्षेत्रको सडकको अवलोकन गरेका छन्।
शुक्रबार उनीसहित मन्त्रालयका अधिकारी, सडक विभागका महानिर्देशक सुनिलबाबु ढकाल, सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीको टोलीले उपत्यका सडकहरुको अनुगमन गरेका हुन्।
मन्त्री ज्वालाले गत असोज १७ गते आफ्नो क्षेत्राधिकारभित्र गर्ने उपत्यकाका सडकलाई खाल्डाखुल्डीमुक्त बनाउन निर्देशन दिएका थिए।
निर्देशनपछि सुधारको अवस्थाबारे फिल्डमै पुगेर जानकारी लिएको मन्त्री ज्वालाले जानकारी दिए । मर्मतका काम सन्तोषजनक रुपमा अघि बढेको पाइएको उनले बताए । मन्त्रीसहितको टोलीले महाराजगञ्ज बुढानीलकण्ठ, बालाजु बाइपास, कलंकी–महाराजगञ्ज सडकको अनुगमन गरेको छ।
बालाजु बाइपासको सडक राम्रो अवस्थामा भए पनि त्यहाँको चोकमा करिब ४० मिटर सडक विवादका कारण पिच नहुँदा आफूहरु धुलोबाट आक्रान्त भएको स्थानीयले टोलीसँग गुनासो गरे । उनीहरुले विवाद छिटो समाधान गरेर सडकमा कालोपत्रे गर्न उनीहरुले माग गरेका थिए।
त्यस्तै टोलीले माछापोखरी मुड्खु, सामाखुसी, ग्राण्डी अस्पताल सडक, गल्कोपाखा–सामाखुसी सडकको सुधारको अवस्थाबारे पनि जानकारी लिएको छ । उपत्यकाका सडकलाई चुस्त दुरुस्त राख्न मातहतका निकायलाई निरन्तर निर्देशन दिँदै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।











