दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर
नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई शुक्रबार अर्घाखाँचीमा सम्बोधन गर्दै नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको बताए।
काठमाडौं, मंसिर ८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको आरोप लगाएका छन्।
नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई शुक्रबार अर्घाखाँचीमा सम्बोधन गर्दै नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको बताए।
‘दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता हो। आज अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हो र हुनुपर्छ,’ उनले भने।
ओली, प्रचण्ड र प्रसाईंबीचको अघोषित सम्बन्धका कारण अहिलेको स्थिति सिर्जना भएको महरले दाबी गरे।
‘दुर्गा प्रसाईं हालको अवस्थामा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको बराबर सम्पर्कमा छन्। उनीहरूको दोहोरो उक्साहटमा प्रसाईंले आन्दोलन गरिरहेका हुन्। यसमा राजाको पनि अप्रत्यक्ष साथ होला। तर, बढी भूमिका प्रचण्ड–ओलीकै छ,’ उनले भने।
सत्ताको खेल र देशको ढुकुटीमा कसरी रजगज गर्ने भन्ने कम्युनिष्ट प्रपञ्चको हिस्सेदार हिजोदेखि नै दुर्गा प्रसाईं पनि रहेको महरको आरोप छ। ‘ओलीले वर्तमान सत्ताका खिलाफमा दुर्गा प्रसाईंलाई प्रयोग गर्न चाहिरहेको देखिन्छ। प्रचण्ड दुर्गा प्रसाईंको माध्यमबाट ओलीलाई तर्साउन चाहन्छन्। प्रचण्ड र केपी ओलीका कमजोरीसँग प्रसाईं परिचित छन्,’ उनले भने
प्रचण्ड र ओलीका कमजोरी थाहा रहेकाले उनीहरू प्रसाईंको खिलाफमा जान नसक्दा अराजकताले प्रश्रय पाइराखेको महरले बताए। केही अराजक तत्व पुनः मुलुकमा द्वन्द्व निम्त्याएर अस्थिरता सिर्जना गर्न प्रयत्नरत रहेकाले कांग्रेस त्यसका खिलाफमा बलियो गरी उभिनुपर्ने उनले बताए।
‘कांग्रेस पनि सुध्रिनुपर्ने छ। हाम्रा कमी कमजोरी छन्। कांग्रेसले आफैंबाट सुधारको प्रक्रिया थाल्नुपर्छ। जनताका लागि काम गर्नुपर्छ। प्रजातान्त्रिक आचरण अनुसार अगाडि बढ्ने वातावरण आफैंभित्र सिर्जना गर्न जरुरी छ। यसरी अगाडि बढे कांग्रेस र मुलुक दुवै समृद्ध हुने छन्,’ उनले भने
१८/२० वर्ष पहिले नेपालको परिस्थिति एकदमै जर्जर रहेकोमा कांग्रेसको नेतृत्वमा हाल प्राप्त उपलब्धिलाई गुम्न नदिन सबै जागरूक हुनुपर्ने महरले बताए। ‘जनता हिंसा, हत्या र आतंकको त्रासमा बाँच्नुपर्ने अवस्था हामीले अन्त्य गरेका छौं। कांग्रेसकै नेतृत्वमा मुलुक सफल संघीयताको अभ्यासमा गएको छ। संविधान पाएका छौं। मुलुक शान्तिप्रक्रियामा छ। यो उपलब्धिको हामी सबैले रक्षा गर्नुपर्छ,’ उनले भने।
सबैको साझा मुलुक बनाउनका लागि कांग्रेसको नेतृत्वमा शान्ति प्रक्रियाको गति अगाडि बढेको र पछिल्लो लोकतान्त्रिक गणतन्त्र स्थापित भएको कसैले भुल्न नहुने पनि उनले बताए। ‘अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएका छन्। सबैका विचार अटाएका छन्। यो सबैको सम्झौताको दस्ताबेज भएकाले अहिले तलमाथि गर्ने र आधारभूत विषय फेर्ने प्रयास गर्नु हुँदैन। त्यस्तो भयो भने फेरि देश दुर्घटनामा जान्छ। देश फेरि हिंसाको खाडलतर्फ जान सक्छ। यसलाई पनि नेपाली कांग्रेस जस्तो पार्टीले बुझ्नुपर्छ,’ उनले भने।











