पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

काठमाडाैं, मंसिर ८ : संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालविरुद्ध उजुरी आह्वान समितिका सभापति पशुपतिशम्शेर जवराले जानकारी दिए।
संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी उनले दिए। सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए। मन्त्रिपरिषदले केही दिनअघि पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय गर्दै राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको थियो। सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ।
समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ आइतबार दिउँसो १ बजे गर्ने निर्णय गरेको छ।











