छुवाछूतको कसुरमा वडाध्यक्षलाई साढे ४ महिना कैद
पीडित दलित महिला वडा सदस्य मैया नेपालीलाई अधिकारीले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसलामा उल्लेख छ।
कास्की, मंसिर ७ : जातीय विभेद तथा छुवाछूतको कसुरमा पोखरा महानगरपालिका–२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद सजाय सुनाएको छ।
बिहीबार न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले कैदसहित ७५ हजार रुपैयाँ जरिवाना पनि तोको छ।
पीडित दलित महिला वडा सदस्य मैया नेपालीलाई अधिकारीले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसलामा उल्लेख छ।
आफ्नै वडाध्यक्ष जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि दलित महिला सदस्य नेपालीले कानुनी उपचार खोजेकी थिइन्। वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा २०७९ पुस २४ मा जाहेरी दर्ता गराएकी थिइन्।
अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए।
अदालतले ३ महिना कैद र ५० हजार जरिवाना तोके पनि अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले थप ५० प्रतिशत सजाय भएको हो।
पोखरा–२४ कास्कीकोटमा वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुन् भने बाँकी ४ सदस्य एमालेबाट निर्वाचित भएका हुन् ।











