Kathmandu Press

बल्खुमा दुर्गा प्रसाईंले गर्जन– संघीयता हटाउने यो जनविद्रोह हो

‘यो आन्दोलन आन्दोलन होइन, यसलाई तपाइँले आन्दोलन नभन्नुस् यो जनताले गरेको जनविद्रोह हो। हामीले धेरै खप्यौं, यो जनविद्रोह आजबाट सुरु भयो, नेपालमा विद्रोहको विरुवा रोपियो।’
बल्खुमा दुर्गा प्रसाईंले गर्जन– संघीयता हटाउने यो जनविद्रोह हो

काठमाडौं, मंसिर ७ : व्यवसायी दुर्गा प्रसाईले आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन आन्दोलन मात्रै नभइ जनविद्रोह भएको बताएका छन्।

काठमाडौं बल्खुमा बिहीबार भएको आफू नेतृत्वको प्रदर्शनलाई सम्बोधन गर्दै उनले देशबाट संघीय व्यवस्था हटाउने चाहना बोकेर आएको भन्दै विद्रोहको विरुवा रोपिएको दाबी गरे।  

‘हाम्रो युवाहरु बाहिर जाने अवस्था परिवर्तन गर्न आएको हो, मभित्र धेरै ठूलो पीडा छ, म दुर्गा मातालाई साक्षी राखेर तपाईहरुको अगाडि मर्न आएको हो । म मर्न चहान्छु, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्न चाहन्छु,’ उनले भने, ‘यो आन्दोलन आन्दोलन होइन, यसलाई तपाइँले आन्दोलन नभन्नुस् यो जनताले गरेको जनविद्रोह हो। हामीले धेरै खप्यौं। यो जनविद्रोह आजबाट सुरु भयो, नेपालमा विद्रोहको विरुवा रोपियो।’

प्रधानमन्त्री पुष्पकमल दाहालले शासन व्यवस्था जनताको अपेक्षाअनुसार चलाउन नसकेको आरोप उनले लगाए । उनले प्रचण्डलाई जनता माझ आउन आग्रह गरे।

‘म अहिलेको प्रधानमन्त्रीलाई म राम्रोसँग चिन्छु, म उहाँलाई के भन्छु भने जनतासँग आउनुहोस् । हिजो यही जनताले पु¥याएको हो तपाईलाई ठाउँमा । जनतालाई जिम्मा लगाउनु, अब तपाईहरुले सक्नु भएन,’ उनले भने ।

मुलुकलाई मदिरा र चुरोट ल्याएर ट्रेनिङ सेन्टर र तस्करीको अड्डा बनाएको आरोप पनि उनले लगाए। प्रसाईंले राजाको समयमा देश उद्योग युगमा परिणत भइसकेको बताउँदै आज ती उद्योग बन्द गराएर युवालाई विदेश पठाउँदै देशलाई तस्करीको स्थान बनाइएको आरोप लगाए।

प्रकाशित मिति: १९:०४ बजे, बिहीबार, मंसिर ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्