Kathmandu Press

वनभित्र होटल बनाउन दिएर भ्रष्टाचार गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा

सामुदायिक वनभित्र होटल निर्माण गर्न अनुमति दिएको आभियोगमा मुद्दा दायर भएको हो।
वनभित्र होटल बनाउन दिएर भ्रष्टाचार गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा

काठमाडौं, मंसिर ७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन राष्ट्रिय निकुञ्ज, खैरहनी नगरपालिका र विभिन्न सामुदायिक वन समूहका पदाधिकारीविरुद्ध विहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सामुदायिक वनभित्र होटल निर्माण गर्न अनुमति दिएको आभियोगमा मुद्दा दायर भएको हो। चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, सौराहाका तत्कालिन सहायक संरक्षण अधिकृत अभिनय पाठक, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सव इञ्जिनियर सुमन श्रेष्ठमाथि ३१ लाख ५९ हजार बिगो मागदावी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको हो।

अख्तियारले यी प्रतिबादीविरुद्ध बजेटको दुरुपयोग गरी निकुञ्जभित्रको वन क्षेत्रमा कंक्रिट मचान निर्माण गरेको, पक्की होटल र भवन निर्माण गरेको काठ काटेको जस्ता आरोप लगाएको छ। 

चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङमाथि एक करोड १९ लाख रुपैयाँ भ्रष्टाचारको विगो मागदावी छ। कुमरोम सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष शम्भु जिसीमाथि ८९ लाख रुपैयाँ बिगो मागदाबी छ। समूहका अर्को कार्यकालका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्जल बर्तौलाबाट १३ लाख ३१ हजार रुपैयाँ बिगो भराउन मागदाबी लिइएको छ। 

अख्तियारले बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरुद्ध ७८ हजार रुपैयाँ विगो असुल्न अदालत समक्ष माग गरेको छ। यस्तै, कंक्रिट मचान निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सीता दाहाल र सचिव कल्याण लटौलाविरुद्ध ३५ लाख ५० हजार रुपैयाँ विगो मागदावी गरिएको छ। 

प्रकाशित मिति: १६:२४ बजे, बिहीबार, मंसिर ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्