Kathmandu Press

वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको भवन भत्काइने 

२०७२ को भुकम्पपछि जिर्ण रहेको उक्त भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने प्राविधिक प्रतिवेदनका आधारमा समितिले भत्काउन सिफारिस गरेको हो।
वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको भवन भत्काइने 

काठमाडौं, मंसिर ७ : वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको भवन जीर्ण भएकोले भत्काइने भएको छ। 

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा गठित समितिले उक्त भवन भत्काउन सिफारिस गरेको हो।

२०७२ को भुकम्पपछि जिर्ण रहेको उक्त भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने प्राविधिक प्रतिवेदनका आधारमा समितिले भत्काउन सिफारिस गरेको हो।

महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले उपप्रमुख डङ्गोलको संयोजकत्वमा वडा नं. ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान सङ्गत र वडा नं.२३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो।

शहरी व्यवस्थापन विभागले पनि भवनको अवस्थालाई प्राविधिक अध्ययन गर्न इन्जिनियर जीवन रेग्मी, आर्किटेक्ट इन्जिनियर अमित बज्राचार्य र आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठ रहेको ३ सदस्यीय समिति गठन गरेको थियो। समितिले गत मङ्सिर ४ गते प्रतिवेदन बुझाएको थियो। 

इञ्जिनियरहरुले दिएको उक्त प्रतिवेदनमा पनि २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको जनाएको छ। प्रतिवेदनमा भवन कुनै पनि समयमा भत्किन सक्ने र जनधनको क्षति हुन सक्ने हुँदा जीर्ण भवनको तत्काल व्यवस्थापन गर्न भनिएको छ।

उक्त भवन त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम रहेको छ। उक्त भवन नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो।
 

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, मंसिर ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्