उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेकाे राजीनामा मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं, मंसिर ७ : नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले आफ्नो उमेर विवादमा परेपछि व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो।
त्यस्तै ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले व्यक्तिगत कारण देखाउँदै पदावधि सकिनुभन्दा एक महिनाअगाडि दिएको राजीनामा पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको मन्त्री शर्माले बताइन्।
बैठकले सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गर्न भएको आयोगको मागबमोजिम चार जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय पनि गरेको पनि मन्त्री शर्माले बताइन्।
विद्युत सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने र प्राविधिक शिक्षाको क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीसफ्र्याङ्क ४.४६५ मिलियन (करिब ६५ करोड रुपैयाँ) अनुदान स्वीकृत गर्ने निर्णय पनि भएको मन्त्री शर्माले बताइन्।











