हरिबोधिनी एकादशी : चाँगुनारायणमा श्रद्धालु
हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन्। काठमाडाैं उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ।
काठमाडाैं, मंसिर ७ : आज हरि बोधिनी एकादशी। वर्षमा पर्ने चौबीस वटा एकादशीमध्ये हरिबोधिनी एकादशीलाई सबैभन्दा ठुलो एवं महत्त्वपूर्ण मानिन्छ। आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु आजैको दिन उठ्ने विश्वास छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने गरिएकाे हाे।

हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन्। काठमाडाैं उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ । हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेका चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ भक्तपुरमा रहेकाे चाँगुनारायण मन्दिरम पनि श्रद्धालुको भिड लागेकाे छ।






















