Kathmandu Press

काठमाडौंको सुरक्षा व्यवस्था कडा, ड्रोनबाट निगरानी गरिँदै

प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको छ।
काठमाडौंको सुरक्षा व्यवस्था कडा, ड्रोनबाट निगरानी गरिँदै

काठमाडौं, मंसिर ७ : नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र दुई समूहले गर्ने कार्यक्रमका कारण हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखेर निगरानी बढाइएको जनाएको छ। युवा संघका लागि तीनकुने मैदान र प्रसाईं समूहका लागि बल्खुमा कार्यक्रम गर्ने स्थान तोकिएको छ।

प्रशासनले तोकेको स्थान बाहिर गएर कुनै कार्यक्रम गरेर अप्रिय घटना भए सुरक्षा निकायले बल प्रयोग गर्ने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चेतावनी दिए।

दुई समूहको कार्यक्रमलाई लक्षित गरेर सुरक्षा निकायले सादा पोसाकमा सुरक्षाकर्मीमार्फत निगरानी बढाएको छ । दुई समूहबीच झडप हुन नदिन फरक(फरक रुट तोकिएको छ।

नागरिकको दैनिक काममा अवरोध नहोस् भन्नका लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । दुवै समूहले आफ्नो कार्यक्रम शान्तिपूर्ण हुने जनाएका छन्।

प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको छ।

सुरक्षाकर्मीहरुलाई परिचालन गर्न उपत्यका प्रहरी कार्यालयले डिआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको छ। कमाण्ड सेन्टरमा नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय (डीजीएमआई)का एक जना अधिकृतसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली रहनेछन्।

जुलुसमा सादा पोशाकका सुरक्षाकर्मीहरु पनि रहनेछन् र उनीहरुले सूक्ष्म निगरानी गर्नेछन् । साथै सीसीटीभी फुटेजहरुबाट पनि जुलुसको निगरानीको व्यवस्था गरिएको छ। बल्खु र तिनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गर्ने तयारी छ ।

प्रकाशित मिति: ११:१४ बजे, बिहीबार, मंसिर ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्