मुलुकमा देखिएको अराजक क्रियाकलापलाई गठबन्धन सरकारले नै बढावा दिइरहेको भन्दै एमालेकाे आपत्ति
बुधबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले मुलुकको परितर्वनलाई चूनौत दिने र जातीय र धार्मिक सहिष्णुतामा खलल पार्ने जस्ता अराजक क्रियाकलापलाई नियन्त्रण गर्नुको साटो गठबन्धन सरकारले बढावा दिइरहेको भन्दै आपत्ति जनाएको हो।
काठमाडौं, मंसिर ६ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकमा देखिएको अराजक क्रियाकलापलाई गठबन्धन सरकारले नै बढावा दिइरहेको भन्दै आपत्ति जनाएको छ।
बुधबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले मुलुकको परितर्वनलाई चुनौती दिने र जातीय र धार्मिक सहिष्णुतामा खलल पार्ने जस्ता अराजक क्रियाकलापलाई नियन्त्रण गर्नुको साटो गठबन्धन सरकारले बढावा दिइरहेको भन्दै आपत्ति जनाएको हो।
बैठकले लोकतान्त्रिक गणतन्त्रका विरूद्ध भइरहेका अराजक क्रियाकलापहरूको निन्दा गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढ सङ्कल्प गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। त्यस्तै बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि राहत वितरणलाई राजनीतिक प्रचारबाजी नाफाघाटाको सौदाबाजीको विषय बनाइएको भन्दै आपत्ति प्रकट गरेको छ।
भूकम्पपिडित पीडितहरूको पुनस्थापनाका लागि ठोस कार्ययोजनासहित अविलम्ब काम थाल्न र अस्थायी आवास तथा न्यानो कपडा उपलब्ध गराएर भूकम्पपीडित नागरिकको जीवन रक्षा गर्न बैठकले सरकारसंग माग गरेको गौतमले बताए। त्यस्तै बैठकले मंसिर १४ देखि तीन हप्तासम्म चल्ने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको सम्पूर्ण तालिकालाई पारित गरेको उहाले जानकारी दिए। अभियानको मंसिर १४ गते बैतडीको झुलाघाटमा पार्टी अध्यक्ष केपी ओलीले शुभारम्भ गर्ने र पाँचथरको चिवाभञ्ज्याङमा समापन हुने कार्ययोजना बैठकले पारित गरेको उनले बताए।
एमालेले मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गर्न लागेको हो। त्यस्तै एमालेले युवा संघले बिहीबार गर्न लागेको कार्यक्रमलाई सभ्य ढंगले सम्पन्न गर्न निर्देशन दिएको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्नको लागि केन्द्रीय कमिटीले निर्देशन दिएको जानकारी दिए। उनले महिलाहरुलाई बसेको स्थानबाट निकाल्ने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै छानबिन गर्दा दोषी देखिए कारबाही गर्ने स्पष्ट पारे।











