Kathmandu Press

भाइरल भिडियोबारे महेश बस्नेत भन्छन्- कसैले अन्यथा प्रचार गर्न खोजेर केही हुनेवाला छैन

भाइरल भिडियोबारे महेश बस्नेत भन्छन्- कसैले अन्यथा प्रचार गर्न खोजेर केही हुनेवाला छैन

काठमाडौं, मंसिर ६ : सामाजिक  सञ्जालमा महिलाहरुको समूहलाई राति बास बसेको ठाउँबाट पुरुषहरुको समूहले हटाएको भाइरल भिडियो प्रति युवा संघ नेपालको पूर्व अध्यक्ष समेत रहेका महेश बस्नेतले युवासंघले सो कार्य नगरेको टिप्पणी गरेका छन्। 

गए राति जडिबुटीस्थित इन्द्रसान व्याङ्क्वेटमा बसेका ३५ जना बढी महिलाको समुहलाई युवा संघको नाम लिएर पुरुषको समूहले बस्न नमिल्ने भन्दै सो स्थानबाट निक्लिन भनेको भिडियोमा देखिन्छ। भिडियोमा कल्याङमल्याङ सुन्दा ती महिलाहरु इटहरीबाट काठमाडौंमा सात गतेको कार्यक्रममा सहभागी हुन आएको बुझिन्छ। भिडियोमा बोल्ने एक पुरुषले बस चढाएर उनीहरुलाई इटहरी नै फर्काइदिने भनेर कुरा गरेको सुनिन्छ।

सो भिडियोबारे नेपाल न्यूज बैंकले दुर्गा प्रसाईँसँग नजिक रहेर कार्य गर्दै आएका डा. सागर ढकालसँग कुरा गर्दा उनले महिलामाथी मंगलबार राती नराम्रो व्यवहार गरेको बताएका छन्। ‘युवा संघका १५,१६ जनाको समुहमा आएका व्यक्तिहले इन्द्रसान व्याङ्क्वीटमा बास बसेका ३५ जना जति महिला दिदीबहिनीहरुलाई अभद्र व्यवहार गरेका छन्। १० बजे राती आएका उनीहरुले एक महिलामाथि लात्ति प्रहार गरेका छन्,’ ढकालले आरोप लगाए। युवा संघका व्यक्तिहरुले नै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेको ढकालको दाबी छ। उनले प्रहरीलाई घटनाबारे खबर गरेपछि ति पुरुषको समुह भागेको बताएका छन्।

सो घटनाबारे यता युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका महेश बस्नेतले युवा संघकै समन्वयमा ति महिलाहरुलाई बस्ने व्यवस्था मिलाएको भन्दै उक्त कार्य नगरेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आज लेखेका छन्, ‘दुर्गा प्रसाईं जस्ता अपराधिक ब्यक्तिले सर्वसाधारण र महिलाहरुलाई कुनै दल र ब्यक्ति विरुद्ध परिचालन गरी अमर्यादित ढङ्गले उचालेर काठमाडौंमा खुल्ला दिसा पिसाब गराउने जस्ता हर्कत गराउँदा स्थानियले त्यस्तो नगर्न र आफ्नो क्षेत्रमा नबस्न गरेको आग्रहलाई अन्यथा प्रचार गर्नु बेठिक छ। याद होस् ति ब्यक्तिहरुलाई प्रहरीको समन्वयमा युवा संघका साथिहरुले नै  बास बस्ने ब्यवस्था गरेका हुन्। युवा संघ सधैं मर्यादित र मानविय हिसाबले अगाडि लम्कन्छ। कसैले अन्यथा प्रचार गर्न खोजेर केही हुनेवाला छैन।’

सामाजिक सञ्जालमा भाइरल भिडियोप्रति अहिले विभिन्न खाले टिकाटिप्पणी भैरहेको छ। 

प्रकाशित मिति: १५:२१ बजे, बुधबार, मंसिर ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्