आवधिक निर्वाचनका लागि दिन नै तोकेर आयोगको प्रस्ताव
निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकमा उक्त प्रश्ताव गरिएको हो। यस्तै, आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि गर्न प्रस्ताव गरेको छ।
काठमाडौं, मंसिर ६ : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन त्यसभन्दा अघि अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरेको छ।
निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकमा उक्त प्रश्ताव गरिएको हो। यस्तै, आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि गर्न प्रस्ताव गरेको छ। आयोगले उक्त वियकको प्रति गृह मन्त्रालयमा पठाएको छ। राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुने एक महिनाअघिको पहिलो आइतबार हुने प्रश्ताव विधेयकमा छ।
यसैगरी स्थानीय तहका पदाधिकारीको निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्न प्रश्ताव गरिएको छ। गाउँपालिका वा नगरपालिका सदस्यको निर्वाचन स्थानीय तहको निर्वाचन परिणाम घोषणा भएको १५ दिनभित्र सम्पन्न हुने गरी सम्बन्धित निर्वाचन अधिकृतले तोकेको दिन गर्ने व्यवस्थाका लागि प्रश्ताव गरिएको छ।
निर्वाचन हुने दिन, मतदानको समय र निर्वाचन प्रचार–प्रसारको अवधिसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको विधेयकमा मतदान हुने दिनभन्दा चौबीस घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधि मानिने विधेयकमा उल्लेख छ। निर्वाचन कानुनका विज्ञ तथा सरोकारवालाको सुझावसमेतका आधारमा मस्यौदामा आवश्यक परिमार्जन गरी निर्वाचनसँग सम्बन्धित विद्यमान सातवटा निर्वाचन ऐन र निर्वाचन आयोग ऐनका प्रावधान समेटी एकीकृत विधेयक तयार गरिएको आयोगले जनाएको छ।











