Kathmandu Press

दधिराज सुवेदी पुरस्कार कथाकार श्रेष्ठ र पत्रकार झालाई प्रदान गरिने

दधिराज सुवेदी पुरस्कार कथाकार श्रेष्ठ र पत्रकार झालाई प्रदान गरिने

काठमाडौं, मंसिर ६ : दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई प्रदान गरिने भएको छ। त्यस्तै, ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानको बैठकले राष्ट्रिय भाषा साहित्यतर्फ श्रेष्ठलाई र राष्ट्रिय पत्रकारितातर्फको पुरस्कार झालाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको दुवै पुरस्कारको राशि क्रमशः रू ५१ हजार र रू २५ हजार तथा प्रमाणपत्र रहेको छ।

Hardik ivf

नेपाली  साहित्यको आख्यान विधामा पाँच दशकभन्दा बढी समयदेखि दिइएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई र पत्रकारिताको क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि योगदान पुर्‍याउँदै आएका वरिष्ठ पत्रकार झालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले जानकारी दिए।

उक्त पुरस्कार यसअघि भाषा साहित्य पुरस्कारबाट, साहित्यकारहरु क्रमशः  प्राडा गोविन्दराज भट्टराई, प्राडा अभि सुवेदी, प्राडा माधवप्रसाद पोखरेल, डा विष्णुविभु घिमिरे, शङ्करप्रसाद कोइराला,  प्राडा चूडामणि बन्धु र सनत रेग्मीलाई र पत्रकारिता पुरस्कारबाट पत्रकारहरू क्रमशः हरिबहादुर थापा, शिवबहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल, भूषण दाहाल र अनन्तराज न्यौपानेलाई प्रदान गरिसकिएको प्रतिष्ठानले जनाएको छ।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रू १५ लाखको अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आइएको छ। उक्त पुरस्कार विसं २०७३ देखि नियमित प्रदान गरिँदै आइएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित मिति: १३:२६ बजे, बुधबार, मंसिर ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्