Kathmandu Press

मंसिर ७ गते राजधानीमा चारवटै सुरक्षा निकाय परिचालनको तयारी 

मंसिर ७ गते राजधानीमा चारवटै सुरक्षा निकाय परिचालनको तयारी 

काठमाडौं, मंसिर ५ : मंसिर ७ गतेका दिन राजधानी काठमाडौंमा चार वटै सुरक्षा निकाय परिचालन गर्ने तयारी भएको छ ।
नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले मंसिर ७ गते एकैदिन कार्यक्रम जुधाएपछि सुरक्षा संवेदनशिलतालाई मध्येनजर गर्दै चार वटै सुरक्षा निकाय परिचालन गर्ने तयारी भएको हो । जिल्ला सुरक्षा समितिको छलफलपछि मंसिर ७ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिल्डमा उतार्ने र नेपाली सेनालाई ‘ब्याकअप’ मा राख्ने निर्णय भएको हो । तीन सुरक्षा निकायको साथमा राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन हुने जनाइएको छ ।

छलफलपछि नेपल प्रहरीले अग्रभागमा बसेर काम गर्ने, सशस्त्र प्रहरी पनि फिल्डमा खटिएर सुरक्षा दिने र नेपाली सेनालाई ब्याकअप फोर्सको रूपमा तयारी अवस्थामा राखिने निर्णय लिइएको छ । युवा संघ र प्रसाईं पक्षले एकैदिन माइतीघर मण्डलमा कार्यक्रम गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई बोलाएर सोमबार छलफल समेत गराएको थियो । छलफलपछि युवा संघले तीनकुनेमा कार्यक्रम गर्ने बताएको छ । प्रसाईं पक्षले बल्खुमा गर्ने भएको छ । 

यसका अलवा उपत्यकाका तीन वटा जिल्ला सुरक्षा समितिले सुरक्षा योजनाहरू बनाएर सूचना संयन्त्र बनाइएको छ । यसका लागि ‘भ्याली जोइन्ट अपरेशन कमान्ड सेन्टर’ तयार गरिएको जनाइएका छ । दुई पक्षविच झडप हुन सक्ने अनुमान गर्दै दुई पक्षलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिने निर्णय लिइएको हो । कार्यक्रम सकिएपछि पनि दुईपक्षविच झडप नहुने गरी व्यवस्थापन गरिएको छ । सुरक्षा व्यवस्था थप मजबुत पार्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ।
 

प्रकाशित मिति: १४:०४ बजे, मंगलबार, मंसिर ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्