सरकारले जलवायु अनुकूल हुने योजनामात्र स्विकार्छः अर्थमन्त्री महत
-1700553052.png)
काठमाडौं, मंसिर ५ : अर्थमन्त्री प्रकाशशरण महतले नेपाल सरकारले जलवायु अनुकूल हुने योजनाहरु मात्र स्वीकार गर्ने बताएका छन्। राष्ट्रिय जलवायु सम्मेलनमा उनले नेपाल जलवायु परिवर्तनको कारण नभएर पनि धेरै चुनौतीको सामना गर्नुपरेको भन्दै यो विषयलाइै उठाउनु पर्ने बताए।
उनले भने, ‘अबका विकासका कामहरुमा जलवायु अनुकूल हुने त्यस्तो योजनाहरु ल्याउने हो भने मात्रै त्यसलाई सरकारले स्वीकार गर्छ। अन्तर्राष्ट्रिय रुपमा नेपालको तर्फबाट नेपालको आवश्यकता सामान्य हो, जलवायु परिवर्तन आफ्नो कारण नभएर पनि नेपालले धेरै चुनौतीको सामना गर्नुपरेको छ भन्ने विषयलाई उठाउनुपर्छ।’
यस्तै, उनले जलवायु परिवर्तनको अवस्था सुधारको मिसनमा नेपालको तर्फबाट आवश्यक काम भइरहेको भन्दै अब अन्तर्राष्ट्रिय समुदायले आफ्नो स्तरबाट काम गर्नुपर्ने बताए।
उनले भने, ‘जलवायु परिवर्तनको अवस्था सुधारको मिसनमा हामीले हाम्रो काम गरिरहेका छौ अब अन्तर्राष्ट्रिय समुदायले उनीहरुको आफ्नो स्तरको काम गर्नुपर्छ। कसैले पनि समस्या भोग्न नपरोस् भनेर सबैले सहयोग गर्नुपर्छ किनभने जलवायु परिवर्तनको कारणले हाम्रा हिमालहरुलाई प्रभाव पारिरहेको छ र यो प्रभावले नेपाललाई मात्रै होइन पूरै दक्षिण एसिया र संसारलाई प्रभाव पर्न सक्छ।’
समस्या के हो भन्ने थाहा भइसकेको भन्दै अर्थमन्त्री महतले त्यसको समाधानको लागि ठोस कार्यक्रम, योजना र सहयोगको आवश्यकता भएको पनि बताए। आगामी कोप–२८ मा अर्थपूर्ण सहभागिताको तयारीका लागि सरकारले राष्ट्रिय जलवायु सम्मेलन आयोजना गरेको हो।
वन मन्त्रालयको आयोजनामा भएको सम्मेलनका क्रममा सरकारले राष्ट्रिय अनुकूलन योजना र राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजना सार्वजनिक गरिएको छ।











