तापमान वृद्धि सीमित गर्न विकसित राष्ट्रको प्रतिबद्धता पूरा गराउन पैरवी गर्छौं : प्रधानमन्त्री
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ भन्ने कुरा अब निर्विवाद सत्य भइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले परिवर्तित जलवायुले मनसुन वर्षाको प्रवृत्ति मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन भइरहेको बताए।-1700552327.jpeg)
काठमाडौंं, मंसिर ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा विश्व तापमान वृद्धिलाई सीमित गर्न विकसित राष्ट्रहरुलाई आफ्नो प्रतिबद्धता एवं जिम्मेवारी पालना गराउन सशक्त पैरवी गर्ने बताएका छन्।
मंगलबार राष्ट्रिय जलवायु सम्मेलन समापन तथा कोप–२८ मा सहभागिता बारे आयोजित कार्यक्रमलाई सम्बोधन उनले अनुकूलनका लागि दोब्बर घोषणा गरिएको वित्त प्रवाह अनुदानस्वरूप प्रदान गर्ने सहमतिको शीघ्र र पूर्ण कार्यान्वयनमा नेपालले गम्भीरतापूर्वक आफ्नो दावी गर्ने पनि बताए।
उनले भने, ‘अर्को हप्तादेखि हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप–२८) मा मेरो नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिँदैछ। सम्मेलनमा विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरुलाई आफ्नो प्रतिबद्धताको जिम्मेवारी पालनाका लागि नेपालले सशक्त पैरवी गर्नेछ। अनुकूलनका लागि दोव्बर घोषणा गरिएको वित्तको प्रवाह अनुदानस्वरूप प्रदान गर्ने सहमतिको शीघ्र र पूर्ण कार्यान्वयनमा नेपालले गम्भीरतापूर्वक आफ्नो दावी प्रस्तुत गर्नेछ।’
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ भन्ने कुरा अब निर्विवाद सत्य भइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले परिवर्तित जलवायुले मनसुन वर्षाको प्रवृत्ति मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन भइरहेको बताए। वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आएको फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण बहुपक्षीय चुनौतीहरुको सामना गर्नु परिरहेको उनले बताए।
विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न नसके बढ्दो जलवायुजन्य प्रकोप, खाद्य सुरक्षा र पानीको उपलब्धतामा कमी आउनुका साथै नेपाल लगायतका विकासोन्मुख देशहरुमा जलवायु–उत्थानशील विकासको सम्भावनामा गम्भीर असर पर्ने उनको भनाइ छ।











