नक्कली शरणार्थी प्रकरणमा सुनुवाइ जारी
जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश बदर हुनुपर्ने मागसहित आरोपितहरुले उच्च अदालत पाटनमा निवेदन दिएका हुन्।
काठमाडौं, मंसिर ५ : नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, सचिव टेकनारायण पाण्डे लगायतले साधारण तारेखको मागसहित दर्ता गरेको निवेदनमाथि सुनुवाइ शुरु भएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा सबै निवेदन उपर एकसाथ सुनुवाइ जारी छ। जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश बदर हुनुपर्ने मागसहित आरोपितहरुले उच्च अदालत पाटनमा निवेदन दिएका हुन्।
जिल्ला अदालतको आदेश बदर हुनुपर्ने माग गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, सचिव पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा.इन्द्रजित राई, हरीभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया, आशिष बुढाथोकी, गोविन्द चौधरी, टंक कुमार गुरुङ, शरणार्थी नेता टेकनाथ रिजाल, सागर राई, रामशरण केसी, केशव तुलाधर उच्च अदालत पुगेका हुन्। निवेदन उपर पक्षविपक्षको सुनुवाई सकिएपछि तल्लो अदालतको आदेश सदर वा बदर गर्ने बिषयको टुंगो लाग्ने छ।











