दुर्गा प्रसाईंको समूहले बल्खु क्षेत्रमा प्रदर्शन गर्ने, युवा संघले तीनकुनेमा

काठमाडौं, मंसिर ५ : दुर्गा प्रसाईं नेतृत्वको समूहले यही मंसिर ७ गते गर्ने बल्खु क्षेत्रमा प्रदर्शन गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंको समूहको प्रदर्शनका लागि लागि बल्खु क्षेत्र तोकिदिएको हो। प्रशासनले एमालेनिकट संगठन युवा संघलाई प्रदर्शनका लागि तीनकुने क्षेत्र तोकिसकेको छ। दुवै पक्षले एकै ठाउँमा प्रदर्शन गर्दा अप्रिय घटना हुन सक्ने भन्दै प्रशासनले फरकफरक ठाउँ तोकिदिएको हो।
यसअघि दुवै पक्षले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनको तयारी गरेका थिए। तर सो क्षेत्रमा प्रशासनले प्रदर्शनका लागि निषेध गरिदिएको छ। प्रशासनले माइतीघरदेखि नयाँबानेश्वर क्षेत्रमा एक महिनासम्म प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिदिएको हाे। प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने भन्दै वैकल्पिक स्थान रोज्न लगाएका थिए।
युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंसिर ७ गते शक्ति प्रदर्शन गर्दैछन्। युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै ‘व्यवस्था बदल्ने’ प्रदर्शन भनेका छन्।











