पर्यटक तान्दै ‘उल्टो घर’
स्थानीय निसेलुङ पर्यटन प्रवर्द्धन समितिले ५२ लाख रुपैयाँ लागतमा उल्टो घर बनाएको हो। घरका सबै संरचना उल्टो बनाइएको छ।
मोरङ, मंसिर ५ : आफ्नो क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न स्थानमा अनौठो जुक्ति अपनाइने गरेको छ । कतै ठाउँको नामअनुसारका स्तम्भ बनाएर अनि कतै दुर्लभ वन्यजन्तुको मूर्ति बनाएर पर्यटकलाई आकर्षित गर्ने गरिएको छ।
मोरङको मिक्लाजुङमा अर्को अनौठो जुक्ति अपनाइएको छ। मिक्लाजुङ–३ टाँडीस्थित निसेलुङ पार्कमा पर्यटक आकर्षित गर्न उल्टो घर बनाइएको छ । घरको भित्री र बाहिरी संरचना सबै उल्टो अवस्थामा छन्।
स्थानीय निसेलुङ पर्यटन प्रवर्द्धन समितिले ५२ लाख रुपैयाँ लागतमा उल्टो घर बनाएको हो। घरका सबै संरचना उल्टो बनाइएको छ।
परैबाट हेर्दा अरु सामान्य घरभन्दा ठिक उल्टो पाराको संरचना रहेको घरले दैनिक सयौं पर्यटक आकर्षित गरिरहेको छ । घरको छानो भुइँमा, जगको भाग आकासतिर देखिन्छ।
घरमित्र प्रवेश गर्दा पनि शयन कक्ष, शौचालय, भान्सा कोठा सबै उल्टो देखिन्छ । टेबल, दराज, कुर्सीहरु सबै उल्टो छन्।
निसेलुङ पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष खगेन्द्र मादेनका अनुसार यस्तो उल्टो आकर्षक भवन बनाउनका लागि भारतको जलपाइगुढीबाट इन्जिनियर र मिस्त्री ल्याइएको थियो।
विदेशमा यस्तो संरचना बनाएर पर्यटक तान्न अभ्यास रहे पनि नेपालमा नभएकाले यो नौलो विधि आफूहरुले अपनाएको मादेनले बता ।
उक्त घर अवलोकन गर्न एकजनाका लागि सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ। त्यस क्षेत्रमा भ्युटावर, बालबालिकाका लागि पार्क, पिङ, फाउण्डेशन र मिसिलुङ मन्दिर पनि बनाइएको छ।











