विश्वकप छनोट : पहिलो जितको खोजीमा नेपाल
यसअघि छनोटको दोस्रो चरणको आफ्नो पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ४–० को हार बेहोरेको थियो । छनोटको आगामी चरणमा प्रवेश गर्ने सम्भावना कायम राख्न नेपाललाई आज जितको आवश्यकता छ ।काठमाडौं, मंसिर ५ : फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज यमनविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।
यसअघि छनोटको दोस्रो चरणको आफ्नो पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ४–० को हार बेहोरेको थियो । छनोटको आगामी चरणमा प्रवेश गर्ने सम्भावना कायम राख्न नेपाललाई आज जितको आवश्यकता छ ।
खेलको पूर्वसन्ध्यामा नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले पनि यमनविरुद्ध जित्नका लागि खेल्ने बताएका थिए ।
“यमनसँग नेपालको यसअघिका खेलको नतिजा राम्रो छैन । सन् २०१७ मा गोलरहित बराबरी खेल्नुबाहेक नेपालले सबै खेलमा हार बेहोरेको छ । यसपटक हामी जित्न चाहन्छौँ । हामी उच्चस्तरको प्रदर्शन गर्न चाहन्छौँ । किनकि हामी निकै बलियो टिमसँग खेल्न जाँदैछौँ । जोसँग निकै अनुभवी प्रशिक्षकको साथ छ,” उनले भने ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल राति ७ बजेदेखि सुरु हुनेछ । खेल राति अबेरसम्म हुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समर्थकलाई घर फर्किन विभिन्न रुटमा १५ वटा बसको व्यवस्था गरेको छ ।
छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ । यस समूहमा नेपालसँगै यमन, युनाइटेड अरब इमिरेट्स (यूएई) र बहराइन छन् । यसअघि पहिलो खेलमा नेपाल यूएईसँग उसैको मैदानमा ४–० ले पराजित भएको थियो ।
नेपालले यसअघि छनोटको पहिलो चरणमा लाओसविरुद्ध समग्रमा २–१ को जित निकालेको थियो ।