रौतहटबाट ४ थान हतियार बरामद
घरमा लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्रको इन्टलिजेन्स ब्युरोले स्थानिय १९ वर्षीय शेख एजाज अहमदको घर खानतलासी गर्ने क्रममा अत्याधुनिक हतियार बरामद गरेको हो।
रौतहट, मंसिर ४ : रौतहटको यमुनामाई गाँउपालिका–३ मल्हेनियबाट सशस्त्र प्रहरीले ४ थान हतियार बरामद गरेको छ।
घरमा लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्रको इन्टलिजेन्स ब्युरोले स्थानिय १९ वर्षीय शेख एजाज अहमदको घर खानतलासी गर्ने क्रममा अत्याधुनिक हतियार बरामद गरेको हो। लुकाएर राखेको अवस्थामा ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोलि १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल बरामद गरेको छ।
मेड इन अमेरिका लेखिएको दुई थान पेस्तोल, मेड इन इन्डिया लेखिएको एक थान पेस्तोल र एयर गन १ नाल बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ हेडक्वाटर रौतहटले जनाएको छ। हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नेपाली नागरिकता समेत बरामद भएको सशस्त्र प्रहरी नायब उपरिक्षक अमर लामाले जानकारी दिएका छन्।
अवैध हतियार बरामद गरी मुचुल्का उठाउने क्रममा स्थानीयले ढुंगामुडा प्रहार गर्दा सशस्त्र प्रहरीको बीएबी ३२८० नम्बरको गाडीमा क्षति पुगेको छ भने सशस्त्र प्रहरीका ४ जना जवान समान्य घाइते भएको नम्बर ११ गणले बताएको छ।











