बर्दियामा बाघको आक्रमणमा एकको मृत्यु

बर्दिया, मंसिर ३ : बर्दियामा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। घर नजिकै बाटोमा बाख्रा चराउँदै गर्दा बाघले आक्रमण गर्दा राजापुर नगरपालिका १० सुकुम्बासी टोलकी २४ बर्षीया ममता सुनारको ज्यान गएको हो।
बाख्रा चराउँदै गर्दा बाघले आक्रमण गरेको खुलेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत द्रोणराज शर्माले बताए। बाघले आक्रमण गरेपछि तत्काल उद्धार गरी सुनारलाई बर्दिया अस्पताल पुर्याईएको थियो।
घाइते सुनारलाई बर्दिया अस्पताल गुलरियामा पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनलाई आक्रमण गरेको स्थान नेपाल भारत सिमाना नजिक पर्छ।
पछिल्लो समय नेपाल भारत सिमा क्षेत्र, खाता जैविक मार्ग र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको छ। यसअघि गत कार्तिक १७ गते मधुवन नगरपालिका ५ बस्ने २८ बर्षिया सृजना डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको थियो।
खाता जैविक मार्ग र सामुदायिक वन क्षेत्रमा हाल सम्म बाघको आक्रमणबाट १८ जनाको ज्यान गएको छ भने झन्डै चार वर्षको अवधिमा बाघको आक्रमणबाट राष्ट्रिय वन, सामुदायिक वन र निकुञ्ज क्षेत्रमा गरी बर्दियामा ३५ जनाको ज्यान गइसकेको छ।











