शैलुङ र निर्माणाधीन मिनी ग्रेट वाल

काठमाडौं, मंसिर ३ : दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा कालापानी शैलुङ मिनी ग्रेट वाल निर्माण हुँदैछ। करिब ५०० मिटर लामो उक्त वाल दोलखाको शैलुङ गाउँपालिका–९ मा पर्छ। कालापानीदेखि शैलुङडाँडासम्मको उक्त ग्रेटवाल निर्माणमा रु. ६ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएका थियो। रु. चार करोड ९४ लाख १५ हजार ४१८ लागतमा त्यसको निर्माण हुँदै गरेको छ। दोलखा र रामेछापको सिमानामापर्ने शैलुङ डाँडा समुद्री सतहदेखि करिब ३ हजार ८०० मिटर अग्लो स्थानमा छ।

शैलुङ डाँडामा १०० भन्दा बढी थुम्का छन्। शैलुङ डाँडा आन्तरिक पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ। मिनी ग्रेट वाल बनिसकेपछि पर्यटकको संख्या थपिने विश्वास गरिएको छ। शैलुङ डाँडामा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले संघीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा ग्रेट वाल बन्दै गरेको हो। यातयातका माध्यमबाट शैलुङको वेसक्याम्प कालापानीसम्म पुगी दुई घण्टाको पैदलयात्राबाट शैलुङडाँडाको भ्रमण गर्न सकिन्छ। तस्बिरहरू : रत्न श्रेष्ठ/रासस


















